अब ‘ट्राफिक छैन’ भनेर उम्किने दिन सकिए, क्यामेराले घरमै पुर्याउँछ कारबाही
नेपालमा बढ्दो सडक दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधिमैत्री प्रणालीलाई तीव्र रूपमा विस्तार गरेको छ। ट्राफिक प्रहरीको प्रत्यक्ष उपस्थितिभन्दा क्यामेरा, ई–चलान, एएनपीआर, ड्यासक्याम र रोबोटजस्ता प्रविधिमार्फत निगरानी बढाउने अभियान अघि बढाइएको हो।
नेपालमा सडक दुर्घटनाबाट पछिल्लो एक दशकमा २४ हजारभन्दा बढीले ज्यान गुमाएका छन् भने पछिल्ला पाँच वर्षमा मात्रै २ हजार ६६१ पैदलयात्रीको मृत्यु भएको तथ्यांक छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार ५ देखि २९ वर्ष उमेर समूहका बालबालिका तथा युवाको मृत्युको प्रमुख कारण सडक दुर्घटना नै हो।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक बिदाका दिन थापाथली चोकमा ‘ट्राफिकमुक्त अभियान’ सञ्चालन गर्दै सादा पोसाकका प्रहरी, छतमा खटिएका प्रहरी र सीसीटीभीमार्फत निगरानी गरिरहेको छ। नियम उल्लङ्घन गर्ने चालकलाई तत्काल जरिबाना तथा पछि ई–चलानमार्फत कारबाही गरिँदै आएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्लेका अनुसार अब सडकमा ट्राफिक प्रहरीको प्रत्यक्ष उपस्थितिलाई क्रमशः घटाउँदै प्रविधिमार्फत सवारी व्यवस्थापन गर्ने योजना कार्यान्वयन भइरहेको छ।
पछिल्लो एक महिनामा प्रविधिको प्रयोगबाट मात्रै ७३ हजार २९९ चालक कारबाहीमा परेका छन्। तीमध्ये २४ हजार २९१ जनामाथि ई–चलानमार्फत कारबाही गरिएको छ। सीसीटीभीबाट ३ हजार ६३२, एएनपीआर क्यामेराबाट १ हजार ७०६, ब्रेथलाइजरमार्फत ३ हजार ९६८ र भिडियो प्रमाणका आधारमा ६ चालक कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीले अहिले सचेतना कक्षामा रोबोट प्रयोग गर्ने तयारी पनि अघि बढाएको छ। परीक्षणका क्रममा रहेको रोबोटलाई ट्राफिक नियमबारे प्रशिक्षण दिएर चालक र पैदलयात्रीलाई सचेतना प्रदान गर्ने योजना छ।
यसैगरी सार्वजनिक सवारीमा ड्यासक्याम तथा सीसीटीभी अनिवार्य गर्ने अभियान पनि तीव्र पारिएको छ। २ असारसम्म ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्याम जडान भइसकेको छ।
ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा हाल ६१ स्थानमा ट्राफिक लाइट सञ्चालनमा छन्। साथै बडिवर्न क्यामेरा, म्याजिक लाइट, राडार गन, लेजर गन, ई–चलान मोबाइल, फोटो ट्यापिङ क्यामेरा र रोड स्पाइकजस्ता उपकरण पनि प्रयोग भइरहेका छन्।
ट्राफिक प्रहरीले १ असारदेखि देशभर ‘एक महिने ट्राफिक सचेतना महाअभियान’ सञ्चालन गरिरहेको छ। अभियानपछि ट्राफिक नियम उल्लङ्घन गर्नेहरूमाथि थप कडा कारबाही गरिने तयारी गरिएको छ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया