Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

नायिका उषा रजक: गृहमन्त्रीका मान्छेले ‘ह्यारेस’ गरे, प्रहरीले उजुरी लिएन


काठमाडौं । अभिनेत्री उषा रजकले सञ्जोक कार्की नामका एक व्यक्तिले मध्यरातमा पटक–पटक फोन गरेर मानसिक हैरानी दिएको आरोप लगाएकी छन्। उनले सामाजिक सञ्जालमार्फत च्याटको स्क्रिनसट सार्वजनिक गर्दै घटनाबारे जानकारी दिएकी हुन्।

रजकले सार्वजनिक गरेको विवरणअनुसार सञ्जोक कार्कीले मेसेन्जरमार्फत राति ३:१९, ४:०४ र ४:२३ बजे लगातार फोन गरेका थिए। उनले ती गतिविधिलाई ‘मेन्टल ह्यारेसमेन्ट’ भन्दै आपत्ति जनाएकी छन्।

भिडियो सन्देशमार्फत उनले सञ्जोक कार्की गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव जेम्स कार्कीका भाइ रहेको दाबी पनि गरेकी छन्। यद्यपि, उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।

उषाले यस विषयमा साइबर ब्युरोमा उजुरी दिएको बताएकी छन्। तर, प्रहरीबाट अपेक्षित सहयोग नपाएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेकी छन्। भिडियोमा भावुक बन्दै उनले साइबर प्रहरीले उजुरी दर्ताका लागि स्पष्ट अपमानजनक वा आपत्तिजनक शब्द प्रयोग भएको प्रमाण आवश्यक पर्ने जानकारी दिएको उल्लेख गरेकी छन्।उनले सम्बन्धित व्यक्तिलाई कम्तीमा सम्झाइदिन आग्रह गरे पनि त्यसो हुन नसकेको गुनासो गरेकी छन्। साथै, भ्रष्टाचार र शक्ति दुरुपयोगविरुद्धको जनआन्दोलनले परिवर्तनको अपेक्षा जन्माएको भन्दै सार्वजनिक पदमा रहेका व्यक्तिसँग जोडिएका व्यक्तिहरूले जिम्मेवार व्यवहार गर्नुपर्ने धारणा व्यक्त गरेकी छन्।

यस विषयमा प्रतिक्रिया लिन सञ्जोक कार्की नामको फेसबुक अकाउन्टमा मेसेन्जरमार्फत सम्पर्क गर्न खोजिए पनि कुनै जवाफ प्राप्त नभएको बताइएको छ। त्यस्तै, जेम्स कार्कीसँग फोन सम्पर्क गर्ने प्रयास पनि सफल हुन नसकेको जनाइएको छ।

घटनाबारे सम्बन्धित निकायबाट थप अनुसन्धान र आधिकारिक प्रतिक्रिया आउन बाँकी रहेको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट