Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

बागमतीमा साउन १ देखि लाइसेन्स शुल्क दोब्बर, आवेदनदेखि नवीकरणसम्म सबैमा वृद्धि


बागमती प्रदेशमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन वा नवीकरण गर्न चाहने सेवाग्राहीले अब बढी शुल्क तिर्नुपर्ने भएको छ। प्रदेश सरकारले आगामी साउन १ गतेदेखि लागू हुने गरी लाइसेन्ससम्बन्धी सबै प्रक्रियाको शुल्क शतप्रतिशत (दोब्बर) बढाएको हो।

आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि ल्याइएको आर्थिक विधेयकमार्फत प्रदेश सरकारले लाइसेन्स आवेदन, नवीकरण तथा वर्ग थपसम्बन्धी दस्तुरमा उल्लेख्य वृद्धि गरेको छ।

नयाँ व्यवस्थाअनुसार लाइसेन्सका लागि आवेदन शुल्क ५०० रुपैयाँबाट बढाएर १ हजार रुपैयाँ कायम गरिएको छ।

यस्तै मोटरसाइकल तथा स्कुटर (ए वर्ग) को लाइसेन्स बनाउने वा नवीकरण गर्ने शुल्क १ हजार ५ सयबाट ३ हजार रुपैयाँ पुर्‍याइएको छ।

कार, जिप, भ्यान (बी वर्ग), टेम्पो (सी वर्ग) र पावर ट्रिलर (डी वर्ग) को शुल्क २ हजारबाट ४ हजार रुपैयाँ पुगेको छ भने ट्रयाक्टर (ई वर्ग) र मिनीबस/मिनी ट्रक (एफ वर्ग) को शुल्क २ हजार ५ सयबाट ५ हजार रुपैयाँ कायम गरिएको छ।

त्यसैगरी ट्रक, बस, लहरी, रोडरोलर, डोजर, क्रेन, दमकल, लोडर, एक्साभेटर, ब्याकहो लोडर र ग्रेडर समेटिएका जी, एच, आई र जे वर्ग का सवारीसाधनको लाइसेन्स तथा नवीकरण शुल्क ३ हजारबाट ६ हजार रुपैयाँ पुर्‍याइएको छ।

पहिले नै लाइसेन्स भएका व्यक्तिले नयाँ वर्ग थप गर्न चाहेको अवस्थामा पनि अब बढी शुल्क तिर्नुपर्नेछ। एदेखि एफ वर्गसम्म वर्ग थप शुल्क ५ सयबाट १ हजार रुपैयाँ र जीदेखि जे वर्गसम्म १ हजारबाट २ हजार रुपैयाँ कायम गरिएको छ।

यद्यपि शुल्कमा उल्लेख्य वृद्धि गरिए पनि सवारीचालक अनुमतिपत्रको १० वर्षे वैधता अवधि भने यथावत् राखिएको प्रदेश सरकारले जनाएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट