Techie IT
KTM Post
बिहीबार, २५ असार, २०८३

काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने झन्डै दुई हजार चालक कारबाहीमा


काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारीचालकमाथिको निगरानी र कारबाहीलाई ट्राफिक प्रहरीले थप कडा बनाएको छ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ८१३ जना सवारीचालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट पाँच लाख २८ हजार ५०१ रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ।कारबाहीमा पर्नेहरूमध्ये सबैभन्दा धेरै एक हजार ११० जना विभिन्न प्रकारका ट्राफिक नियम पालना नगर्ने चालक रहेका छन्। यस्तै, तीव्र गतिमा सवारी चलाउने ११५ जना र फुटपाथमा सवारी पार्किङ गर्ने ११७ जनालाई पनि कारबाही गरिएको छ।

प्रहरीका अनुसार नियमविपरीत राइड सेयरिङ गर्ने प्रवृत्ति नियन्त्रणका लागि सञ्चालन गरिएको निगरानीका क्रममा १०५ जना चालकलाई कारबाहीको दायरामा ल्याइएको छ।त्यसैगरी, लेन अनुशासन उल्लंघन गर्ने १०२ जना, ट्राफिक बत्तीको संकेत अवज्ञा गर्ने ११९ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ७९ जना तथा एकतर्फी सडकमा सवारी चलाउने ६५ जना चालकलाई पनि कारबाही गरिएको छ।

सडक दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत मादक पदार्थ सेवन गरी सवारी चलाउने नौ जना चालकलाई समेत नियन्त्रणमा लिएर कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।ट्राफिक प्रहरीले सडक सुरक्षा, अनुशासन र दुर्घटना न्यूनीकरणका लागि उपत्यकाभर नियमित निगरानी तथा कारबाही अभियानलाई निरन्तरता दिइने जनाएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट