सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना निर्धारित समयमै सम्पन्न गर्न सबै सरोकारवाला पक्षको साझा प्रतिबद्धता र सहकार्य आवश्यक रहेको बताएका छन्।
आयोजनाको स्थलगत निरीक्षणपछि कर्मचारी तथा लाभान्वित किसानसँग भएको अन्तरक्रियामा मन्त्री श्रेष्ठले सिक्टा सिँचाइ आयोजनाको सफल कार्यान्वयनले बाँकेको कृषि उत्पादन, खाद्य सुरक्षा र ग्रामीण अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।उनले आयोजनाका लागि आवश्यक बजेट व्यवस्थापन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै निर्माण कार्यलाई थप तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
मन्त्री श्रेष्ठले राष्ट्रिय गौरवको आयोजना समयमै सम्पन्न गर्न ऐन–कानुन तथा प्रशासनिक प्रक्रियामा रहेका जटिलता समाधानका लागि आवश्यक पहल गरिने बताए। बहुवर्षीय ठेक्का तथा सहमतिसम्बन्धी प्रक्रियालाई थप सरल, प्रभावकारी र समयानुकूल बनाइने उनको भनाइ थियो।
नहर क्षेत्रको अतिक्रमण, प्रदूषण तथा अव्यवस्थित सहरीकरणका कारण सिँचित क्षेत्र खुम्चिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले नहर संरक्षणलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।उनले सिँचाइ पूर्वाधार निर्माणसँगै किसानका खेतसम्म पानी पुर्याउने मात्र नभई उत्पादित कृषि उपजको बजारीकरण, गुणस्तरीय बीउ तथा मलको उपलब्धता र कृषि मूल्य शृङ्खलाको विकासमा पनि सरकारले आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता जनाए।
मन्त्री श्रेष्ठले सिक्टा सिँचाइ आयोजना केवल पूर्वाधार निर्माणमा सीमित नरही बाँकेको कृषि आधुनिकीकरण, उत्पादन वृद्धि, खाद्य सुरक्षाको सुदृढीकरण तथा किसानको आयआर्जन वृद्धि गर्ने दीर्घकालीन आधारका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे।
क्याटेगोरी : समाचार













प्रतिक्रिया