Techie IT
KTM Post
बिहीबार, २५ असार, २०८३

मनसुनको प्रभाव: देशभर बदली, कोशी, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज विभिन्न प्रदेशमा वर्षा, चट्याङ, हावाहुरी तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा औसत स्थानभन्दा केही दक्षिणतर्फ र पश्चिमी भूभागमा औसत स्थानकै आसपास रहेकाले देशका अधिकांश क्षेत्रमा मौसम बदली भएको हो।

हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थान तथा कोशी प्रदेशको पहाडी र तराई क्षेत्र, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशीको हिमाली भूभाग, मधेश प्रदेश तथा बागमती र गण्डकीका तराई क्षेत्रमा भने आंशिक बदली देखिएको छ।

अहिले कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा, कोशीका केही स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि बदली रहने सम्भावना छ भने कोशी, मधेश र बागमती प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।

दिउँसो हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै, उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको समेत सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान तथा कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन्।

यसैबीच, मधेश प्रदेशका साथै कोशी र बागमती प्रदेशका तराई क्षेत्रमा दिउँसो तीव्र गतिको हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

रातिको समयमा पनि देशभर मौसम बदली रहने पूर्वानुमान गरिएको छ। हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहँदा कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने अनुमान छ। त्यस्तै मधेश र कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा बागमती प्रदेशका पहाडी र तराईका थोरै स्थानमा पनि वर्षा हुन सक्नेछ।

महाशाखाले विशेष गरी कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा रातिको समयमा भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ। सम्भावित बाढी, पहिरो र नदीको बहाव बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै नदी किनार तथा पहिरो प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट