पाँच दिन बित्दा पनि कर्णालीमा बेपत्ता गाडी र यात्रुको अवस्था अज्ञात
काठमाडौं । कर्णाली नदीमा खसेको गाडी र त्यसमा सवार यात्रुको अवस्था अझै अज्ञात छ । बिहीबार (१८ असार) बिहान झण्डै ११ः३० बजेको समयमा सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साँगेतडा क्षेत्रबाट कर्णाली नदीमा खसेको थियो । उक्त दुर्घटनामा घटनास्थलमा एक जनाको शव फेला परेको थियो ।
घटना घटेको पाँच दिनसम्म पनि गाडी र त्यसमा सवार यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन । यति मात्रै होइन, गाडीमा कति जना सवार थिए एकिन तथ्यांकसमेत बाहिर आउन सकेको छैन । प्रहरीको तथ्यांकअनुसार दुर्घटना भएकै दिन एक जनाको शव भिरमा फेला परेको थियो । हालसम्म दुर्घटनाग्रस्त गाडीमा कति जना यात्रु सवार थिए भन्ने विषय पनि खुलेको छैन । यातायात व्यवसायीको अभिलेखअनुसार उक्त गाडीमा पाँच जनाले टिकट काटेको देखिन्छ । तर, बीच बाटोमा अन्य यात्रु पनि थपिएको हुनसक्ने सुरक्षा निकायको अनुमान छ ।
नदीमा खसेका गाडी र यात्रुको खोजीमा अत्याधुनिक प्रविधिसहितको मानव जनशक्ति खटिएको छ । तर, कर्णाली नदीको पानी अत्यधिक धमिलो र उच्च बहावका कारण खोजीमा कठिनाई भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी सन्तोषसिंह राठोरले जानकारी दिए । उनका अनुसार हालसम्म दुर्घटनास्थलदेखि तलका सम्भावित क्षेत्रमा खोजी भइरहे पनि गाडी र यात्रु फेला परेका छैनन् ।
दुर्घटनाग्रस्त गाडी र यात्रुको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले हेलिकोप्टर, ड्रोन, म्याग्नेट, सोनार क्यामेरा तथा गोताखोरको सहायताले खोजीलाई निरन्तरता दिइएको उनले बताए । खोजीमा सुरक्षा निकायका झण्डै दुई सय जनशक्ति खटिएका छन् ।
सेनाले घटना घटेको भोलिपल्ट दुर्घटनास्थलदेखि बर्दियासम्मको कर्णाली नदी बेसिन क्षेत्रमा झण्डै ७० जना सैनिक जनशक्ति खटाएर सम्भावित क्षेत्रमा हेलिकोप्टर, धमिलो पानीमुनीको वस्तु चिन्ने सोनार क्यामेरा, ड्रोन क्यामेरा, र्याफ्टिङ र गोताखोरको सहयाताले खोजी कार्य गरिरहेको छ । सेनाले सोमबार थप गोताखोरसहित २० जनाको विशेष उद्धार टोली कर्णाली नदी बेसिनमा खटाएर सघन खोज गरिरहेको छ । यस्तै, सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम केन्द्र चितवनबाट थप जनशक्ति मगाएर ३६ बढी गोताखोरसहितको टोलीले ड्रोन, सोनार क्यामेरा तथा म्याग्नेटको सहायताले खोजी तथा उद्धारको कार्य गरिरहेको छ ।
हराएको गाडी र यात्रुको खोजीमा नेपाल प्रहरीका ७० बढी जनशक्ति खटिएका छन् । तर, नतिजा भने हात लाग्न सकेको छैन । सुरक्षा निकायले खोज तथा उद्धारमा उच्च प्रविधि प्रयोग गरिरहेको दावी गरेपनि कर्णालीको धमिलो र उच्च बहावको भंगालोमा ति उपकरण कामयावी बन्न सकेका छैनन् ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया