Techie IT
KTM Post
बिहीबार, ७ साउन, २०८३

नेपाल टेलिभिजनको २१ करोड अनियमितता प्रकरण : प्रचण्डनिकट पूर्व पदाधिकारीसहित ६१ जनामाथि अनुसन्धान सिफारिस


सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्यान्डविथ खरिदमा करिब २० करोड ६१ लाख रुपैयाँ अनियमितता भएको निष्कर्ष निकाल्दै ६१ जना पूर्व तथा वर्तमान पदाधिकारी र कर्मचारीमाथि भ्रष्टाचारको अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको छ।
२००५ देखि २०२५ सम्मको खरिद प्रक्रिया अध्ययन गर्न गठित समितिले सार्वजनिक खरिद ऐन विपरीत सम्झौता, लागत अनुमानमा अनियमितता, आवश्यकताभन्दा बढी ब्यान्डविथ खरिद, कर छली तथा संस्थालाई आर्थिक हानि पुर्‍याउने निर्णय भएको निष्कर्ष निकालेको हो। प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समेत पठाइएको छ।
अनुसन्धान सिफारिसमा परेकामध्ये नेपाल टेलिभिजनका पूर्व अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ महेशराज दाहाल,जसलाई पछि प्रचण्डले अष्ट्रेलियाकाे राजदुत बनाएका थिए, पूर्व महाप्रबन्धक तथा विज्ञापन बोर्डका पूर्व अध्यक्ष लक्ष्मण हुमागाईं, नेपाल पत्रकार महासंघका अध्यक्षसमेत रहेका पूर्व अध्यक्ष महेन्द्र विष्ट, पूर्व महाप्रबन्धक तथा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य गोविन्द रोक्का, सञ्चालक सदस्य निर्मल ज्ञवालीलगायतका नाम छन्। प्रतिवेदनमा विभिन्न कार्यकालका अध्यक्ष, महाप्रबन्धक, सञ्चालक, प्राविधिक र आर्थिक प्रशासनका कर्मचारीहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउन भनिएको छ।
अध्ययन समितिका अनुसार केही सम्झौता स्याटेलाइटको आयुभन्दा लामो अवधिका लागि गरिएको, प्रतिस्पर्धीभन्दा महँगो दरमा सेवा खरिद गरिएको तथा बजार मूल्य घट्दासमेत पुरानै दरमा सम्झौता थप्दै संस्थालाई करोडौं रुपैयाँ नोक्सानी पुर्‍याइएको देखिएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट