Techie IT
KTM Post
बिहीबार, ७ साउन, २०८३

मरिणको चिनियाँ मासु उद्योग विवादमा: उद्योगभित्रै अनधिकृत व्यापार, स्थानीय आक्रोशित


मरिण गाउँपालिकामा निर्माणाधीन चिनियाँ लगानीको मासु प्रशोधन उद्योगलाई लिएर स्थानीय स्तरमा विवाद भएकाे छ । स्थानीय व्यापारी, कृषक तथा विभिन्न संघ–संस्थाले उद्योग परिसरभित्र भइरहेको गतिविधिप्रति गम्भीर असन्तुष्टि जनाएका छन् ।

स्थानीयका अनुसार राजनीतिक प्रभावका आधारमा पठाइएका केही कर्मचारीहरूले उद्योग क्षेत्रभित्र नै व्यापार–व्यवसाय सञ्चालन गरिरहेका छन् । दर्ता प्रक्रिया पूरा नगरी मदिराजन्य तथा खाद्यान्न सामग्रीको बिक्री–वितरण भइरहेको र यसले मरिण क्षेत्रका स्थानीय व्यवसायीको व्यापारमा प्रत्यक्ष असर परेको गुनासो गरिएको छ ।
नेपालकै गौरवपूर्ण परियोजनाका रूपमा हेरिएको चिनियाँ लगानीको मासु प्रशोधन उद्योगको निर्माण प्रक्रियामा समेत अनियमितता भएको छ ।

स्थानीयवासीले खोलाको प्राकृतिक धार परिवर्तन गरेर संरचना निर्माण गरिएको र यसका कारण करिब ६६ बिघा कृषियोग्य जमिन जोखिममा परेको बताएका छन् । डाइभर्सन गरिएको खोलाको छेउमा संरचना बनाइएकाले भविष्यमा थप क्षति हुन सक्ने चिन्ता व्यक्त गरिएको छ ।

यस विषयमा स्थानीय नागरिक, व्यापारी तथा संघ–संस्थाले गाउँपालिका कार्यालय र प्रहरी प्रशासनमा पटक–पटक उजुरी दिएको बताएका छन् । साथै, गाउँपालिकामा प्रतिनिधिमण्डलसमेत गएको भए पनि अहिलेसम्म औपचारिक छलफल नभएको उनीहरूको भनाइ छ ।

स्थानीयहरूले गाउँपालिका अध्यक्ष विमर्श मोक्तान प्रख्यातको भूमिकामाथि नै प्रश्न उठाएका छन् । उनकै प्रत्यक्ष पहलमा नियुक्ति खाएका युनिफर्म लगाएका कर्मचारीहरूकै संलग्नतामा उद्योग परिसरमा अनाधिकृत व्यापार भइरहेको आरोप लगाउँदै यसको निष्पक्ष छानबिनको माग गरिएको छ ।

अनाधिकृत ढंगले उद्योग परिसरमा व्यापार गरेमा व्यापारीहरूले चेतावनी दिएपछि राजनीतिक पहुँचमा नियुक्ति पाएका युनिफर्म लगाएकाहरूले बजारमा निस्केर आतंक खडा गरेका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट