Techie IT
KTM Post
शुक्रबार, ८ साउन, २०८३

जिम्मेवार पदमै बसेर सडकमा जोखिमपूर्ण स्टन्ट, आलोचनापछि रास्वपा सांसद गुप्ताले स्वीकारे गल्ती


सिरहा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं पूर्वमन्त्री बब्लु गुप्ता गुडिरहेको मोटरसाइकलमा उभिएर जोखिमपूर्ण तरिकाले यात्रा गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि व्यापक आलोचनाको घेरामा परेका छन्।सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद गुप्ता लहान नगरपालिका-१६ को तारेगनाबाट काभ्रे महादेव मन्दिरतर्फ जाने क्रममा गुडिरहेको मोटरसाइकलको पछिल्लो सिटमा उभिएर मोबाइल चलाउँदै र भिडियो खिच्दै गरेको दृश्य भिडियोमा देखिएको छ।

यात्राका क्रममा उनले सुरक्षाका लागि अनिवार्य मानिने हेल्मेटसमेत नलगाएको पाइएपछि सडक सुरक्षाका आधारभूत नियमको ठाडो उल्लंघन भएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले तीव्र आपत्ति जनाएका छन्।सार्वजनिक पदमा रहेका जिम्मेवार व्यक्तिले नै ट्राफिक नियमको बेवास्ता गर्दै यस्तो जोखिमपूर्ण गतिविधि गर्दा सर्वसाधारणमा गलत सन्देश जाने भन्दै चौतर्फी आलोचना भइरहेको छ।

१००’स ग्रुपमार्फत सामाजिक कार्यमा सक्रिय भई राजनीतिमा आएका र अन्तरिम सरकारमा खेलकुद मन्त्रीसमेत भइसकेका युवा नेता गुप्ताबाट यस्तो गैरजिम्मेवार व्यवहारको अपेक्षा नगरिएको नागरिकहरूको टिप्पणी छ।

यसैबीच घटनाबारे प्रतिक्रिया दिँदै सांसद गुप्ताले सवारीका क्रममा ट्राफिक नियमको उल्लंघन भएको स्पष्ट रूपमा स्वीकार गरेका छन्। आफूहरू एक कार्यक्रमका लागि भसुवातर्फ जाँदै गर्दा सो घटना भएको बताउँदै उनले गल्ती स्वीकार गरी कानुनी कारबाही भोग्न तयार रहेको जनाएका छन्।

नियम उल्लंघन भएको महसुस भएलगत्तै उनले सम्बन्धित मोटरसाइकललाई आवश्यक जरिवाना र कारबाहीका लागि ट्राफिक प्रहरी कार्यालय पठाइसकिएको जानकारी दिएका छन्। सांसद गुप्ताले गल्ती स्वीकार्दै सवारीसाधन कारबाहीका लागि पठाएको बताए पनि सो स्टन्ट भिडियो भने सामाजिक सञ्जालमा अझै तीव्र रूपमा भाइरल भइरहेको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट