सुकुमवासीका बालबालिकालाई नि:शुल्क पढाउने निजी विद्यालयको घोषणा
काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले सुकुमबासी बस्तीका बालबालिकालाई निःशुल्क पढाउने घोषणा गरेका छन् । सञ्चालकहरूले आइतबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन् ।
प्याब्सन, एन–प्याब्सन, हिसान र एपेनले जारी जारीको संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सरकारले काठमाडौँ उपत्यकाका विभिन्न नदी किनार र देशभरका जोखिमयुक्त स्थानमा रहेका सुकुमबासी बस्तीहरू हटाउने कार्यलाई तीव्रता दिएको सन्दर्भमा ती समुदायका बालबालिकाको पठनपाठनमा पर्न सक्ने अवरोधप्रति गहिरो चासो व्यक्त गरेका छन् । नेपालको संविधानले प्रत्याभूत गरेको बालबालिकाको आधारभूत शिक्षाको मौलिक अधिकार कुनै पनि परिस्थितिमा हनन हुन नहुने कुरामा जोड दिँदै, वर्तमान संवेदनशील अवस्थामा स्थानीय तहसँग सहकार्य गरी समस्या समाधानमा रचनात्मक सहयोग पुर्याउन आफूहरू प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत, स्थानीय तह र सम्बन्धित निकायहरूसँग समन्वय गरी प्रभावित तथा वास्तविक सुकुमबासी परिवारका बालबालिकाको शिक्षाको निरन्तरता सुनिश्चित गर्न आवश्यक सहयोग र सहजीकरण गर्न तत्पर रहेको उनीहरूले जनाएका छन् । ‘प्रभावित क्षेत्रका बालबालिकाहरूलाई सम्बन्धित क्षेत्रका निजी विद्यालयहरूमा निःशुल्क पढ्ने अवसर उपलब्ध गराइनेछ । साथै, आवश्यकताअनुसार आवास तथा यातायातको व्यवस्थापन गर्न र अन्य सहयोगात्मक उपायहरूलाई व्यवस्थित र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्पूर्ण सरोकारवाला सङ्गठनहरू तयार रहेको अनुराेध छ’, विज्ञप्तिमा भनिएकाे छ ।
विज्ञप्तिमा एपेनका अध्यक्ष बद्रि प्रसाद दाहाल, एन–प्याब्सनका अध्यक्ष सुवास न्यौपाने, हिसानका अध्यक्ष युवराज शर्मा र प्याब्सनका अध्यक्ष कृष्ण प्रसाद अधिकारीले हस्ताक्षर गरेका छन् ।

क्याटेगोरी : समाचार












प्रतिक्रिया