अप्रिलमा १ लाख ७ हजार पर्यटक भित्रिए, गत वर्ष भन्दा कम
काठमाडौं । सन् २०२६ को अप्रिल महिनामा नेपालको पर्यटन क्षेत्रमा केही उतारचढाव देखिएको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार यस महिना कुल १ लाख ७ हजार ९३४ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
यो संख्या गत वर्ष सन् २०२५ को अप्रिल महिनाको तुलनामा करिब ८ प्रतिशतले कम हो, जतिबेला १ लाख १६ हजार ४९० पर्यटक नेपाल आएका थिए । कोभिड महामारीभन्दा अघि अर्थात् सन् २०१९ को अप्रिलमा १ लाख ९ हजार ३९९ पर्यटक आएको तुलनामा पनि यस वर्षको आगमन केही खुम्चिएको देखिन्छ ।
क्षेत्रगत रूपमा विश्लेषण गर्दा नेपालको पर्यटन बजारमा दक्षिण एसियाली मुलुकहरूको हिस्सा सबैभन्दा बलियो देखिएको छ । कुल आगमनको ३१ प्रतिशत अर्थात् ३३ हजार ४३२ पर्यटक सार्क क्षेत्रबाट मात्र आएका छन् भने अन्य एसियाली राष्ट्रबाट २६ हजार ७२६ पर्यटक भित्रिएका छन् । यस्तै युरोपबाट २१ हजार ९८८, ओसिनियाबाट ५ हजार ८९८ र अमेरिकाबाट २ हजार ५१८ पर्यटकले नेपाल भ्रमण गरेका छन् । पश्चिम एसियाबाट १ हजार ६९७ र अफ्रिकी मुलुकबाट ३१५ पर्यटक भित्रिँदा अन्य विभिन्न देशबाट १५ हजार ३६० पर्यटक नेपाल आएका छन् ।
मुलुकगत आधारमा हेर्दा भारत र चीन नेपालका लागि मुख्य स्रोत बजारका रूपमा स्थापित भएका छन् । सबैभन्दा बढी भारतबाट १५ हजार १९६ पर्यटक आउँदा दोस्रो स्थानमा रहेको चीनबाट ११ हजार ७२२ पर्यटक आएका छन् भने बंगलादेश ५ हजार २३१ पर्यटकसहित तेस्रो स्थानमा रहेको छ । भारत र चीनबाहेक अन्य एसियाली, युरोपेली र अमेरिकी मुलुकहरूबाट पनि पर्यटक आगमनको क्रम क्रमिक रूपमा बढ्दै जानुले नेपालको पर्यटन बजार एकल निर्भरताबाट बहुस्रोततर्फ विस्तार भइरहेको संकेत गर्दछ ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया