सार्वजनिक बिदाको दिनमा पनि पदयात्रा अनुमति प्रदान गरिने
काठमाडौं । अध्यागमन विभागले सार्वजनिक बिदाको दिनमा पनि पदयात्रा अनुमति प्रदान गर्ने भएको छ । विभागले बुधबार यस्तो निर्णय गरेको हो ।
“सम्बन्धित ट्रेकिङ एजेन्सी र पदयात्रामा जान चाहने पर्यटकहरूको सहजता तथा निषेधित क्षेत्रमा पदयात्रा अनुमति प्रदान गर्ने कार्यलाई सरल, अनुमानयोग्य र छरितो बनाउँदै संस्थागत सुशासन कायम गर्ने उद्देश्यले यस विभागले पदयात्रा अनुमति प्रदान गर्ने कार्यलाई शनिबारबाहेकका सार्वजनिक बिदाको दिनमा २ घण्टा (बिहान ११ देखि दिउँसो १ बजेसम्म मात्र) सञ्चालन गर्ने गरी २०८३ वैशाख २३ गते निर्णय गरेको छ,” विभागले बुधबार जारी विज्ञप्तिमा भनिएको छ ।
विभागले केही ट्रेकिङ एजेन्सीले पदयात्री रेस्क्युको बहानामा जुनसुकै बेला पनि फोन गरी कर्मचारीलाई दबाब दिने गरेको बताएको छ ।
विभागले विज्ञप्ति जारी गर्दै केही ट्रेकिङ एजेन्सीले अनुमति नलिई पदयात्रामा लैजाने र स्थानीय प्रशासनले पहिचान गरेपश्चात् मात्र अनुमतिको लागि आवेदन दिने गरेको पाइएको जनाएको छ ।
यसबाट निर्दोष पदयात्रीहरू समेत कारबाहीमा पर्ने सम्भावना हुने विभागले स्पष्ट पारेको छ । साथै, नेपालको पर्यटन प्रवर्द्धनका लागि गरिएका प्रयास र अन्तर्राष्ट्रिय छविमा समेत नकारात्मक असर पारिरहेको विभागले जनाएको छ ।
“तसर्थः पदयात्रा अनुमति लिएर मात्र विदेशीहरूलाई पदयात्रामा लैजान विभागले पुनः अनुरोध गर्दछ । आगामी दिनमा यस प्रकारका गैरकानुनी गतिबिधि भए/गरेको पाइएमा विद्यमान अध्यागमन कानुन बमोजिम कारबाही हुने व्यहोरा समेत सम्बद्ध सबैमा जानकारी गराइन्छ,” विज्ञप्तिमा उल्लेख छ ।
विदेशी नागरिकहरूले १३ जिल्लाका तोकिएका निषेधित क्षेत्रमा पदयात्रा गर्न अध्यागमन विभागबाट अनिवार्य रूपमा पदयात्रा अनुमति लिनुपर्ने व्यवस्था छ ।
तोकिएका निषेधित क्षेत्रमा समूहगत रूपमा ट्रेकिङ एजेन्सीमार्फत जाने विदेशी पदयात्रीलाई पदयात्रा अनुमति जारी गर्ने सेवालाई झन्झटमुक्त, छिटो, छरितो, सेवाग्राहीमैत्री र प्रविधिमैत्री बनाउन पदयात्रा अनुमतिसम्बन्धी सबै कार्य अनलाइन प्रणालीमार्फत भइरहेको विभागले जनाएको छ ।
विभागका अनुसार, पदयात्रामा जाने विदेशी नागरिकले नेपालको स्वीकृत भिसा नम्बर राख्नुपर्ने प्रणालीलाई पुनरवलोकन गरी भिसा आवेदन नम्बरको आधारमा पनि पदयात्रा अनुमतिको लागि आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ । एकजना पदयात्रीलाई पनि पदयात्रा अनुमति प्रदान गरिँदै आएको विज्ञप्तिमा उल्लेख छ ।
क्याटेगोरी : समाचार










प्रतिक्रिया