Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

अमेरिकी सहायक विदेश मन्त्री समिर पल नेपाल आउँदै


काठमाडौं । दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी सहायक विदेशी समीर पल कपुर ३ दिने भ्रमणको लागि सोमबार नेपाल आउने भएका छन् ।

कपुर बालेन शाह नेतृत्वको सरकार गठन भएपछि नेपाल आउन लागेका सबैभन्दा उच्च विदेशी अधिकारी हुन् ।उनी अमेरिकाबाट सिधै नेपाल आउन लागेका हुन् । यसअघि अमेरिकाका कुनै पनि मन्त्रिस्तरिय अधिकारीहरु सिधै नेपाल भ्रमणमा आएका थिएनन् । प्रायः भारत, पाकिस्तान, बंगलादेश वा अन्य दक्षिण, दक्षिण पूर्वी एशियाका देशको भ्रमण क्रममा काठमाडौँ आउने गर्थे । तर, यस पटक सहायक विदेशमन्त्री कपुर नेपाल भ्रमणको लागि मात्रै आउन लागेको बताइएको छ ।

यस्ले अमेरिकाले नेपाललाई उच्च महत्व दिएको स्पष्ट हुने कुटनीतिक क्षेत्रका व्यक्तिहरु बताउँछन् । बालेन नेतृत्वको नयाँ सरकारलाई ‘अमेरिका समर्थित’ भनेर विरोधीहरुले आरोप लगाइरहेको बेला हुन लागेको यो भ्रमणलाई अर्थपूर्णरुपमा लिइएको छ ।

उनको भ्रमणको अवसर पारेर संयुक्त राज्य अमेरिकाले नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतको विकास सहायतालाई आवश्यक पर्दा एक वर्षसम्म लम्ब्याउने गरि नयाँ सहमती गर्ने तयारी भैरहेको जनाइएको छ ।

नेपालमा चर्काे विवादका बिच २०२२ मा संसद्ले व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौतालाई अनुमोदन गरेपछि यो कम्प्याक्ट कार्यान्वयनमा आएको थियो । ५ वर्षे उक्त सम्झौताको अवधि सकिन झण्डै २ वर्ष वाँकी रहंदा थप १ वर्ष समय थप्ने गरि सम्झौता हुन लागेको हो ।

एमसीसी कम्प्याक्टअन्तर्गत अमेरिकाले नेपाललाई विद्युत् प्रसारणलाइन र सडक निर्माण परियोजनाका लागि ५५० मिलियन डलर (करिब ८१ अर्ब ८० करोड रुपैयाँ) अनुदान दिएको छ।

विद्युत् पूर्वाधार अन्तर्गत तीनवटा सबस्टेशनको निर्माण, ३१८ किलोमिटर विद्युत् प्रसारणलाइनको निर्माण र नेपालको नयाँ बुटवलबाट भारतको गोरखपुरसम्म नेपाल र भारतको संयुक्त लगानीमा बन्ने सीमापार प्रसारणलाइन निर्माण कार्यलाई सहजीकरणको काम भैरहेको बताइएको छ । त्यसैगरी भारत जोड्ने अन्तर्देशीय प्रसारणलाइन निर्माणको काम केही महिनामा सम्पन्न हुने बताइएको छ।

अहिले पनि १० जिल्लामा प्रसारणलाइनका टावरहरूका लागि जग्गा प्राप्तिको काम चलिरहेको र कतिपय ठाउँमा रूख कटान र जग्गा अधिग्रहणको लागिप्रकृया अगाडि बढाइएको छ ।

एमसीए नेपालले पूर्वपश्चिम राजमार्गको धानखोलादेखी लमहीको ४० किलोमिटर सडकखण्ड स्तरोन्नतिका लागि पनि प्रक्रिया अघि बढाइएको छ । सडक निर्माणको काम यही केही दिनमा सुरु हुने बताइएको छ। यो सम्झौताअनुसार परियोजनाहरूको कार्यान्वयन गर्न मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) लाई जिम्मा दिइएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट