उत्तर दक्षिण कोशी राजमार्ग : खाँदबारी-नुमखण्डमा ७५ प्रतिशत काम सकियो
किमाथाङ्का । नेपाल, भारत र चीन जोड्ने राष्ट्रिय गौरवको उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी(नुम सडकखण्डमा कामले तीव्रता पाएको छ । सदरमुकाम खाँदबारीबाट नुमसम्मको ३९ किलोमिटर सडकले गति लिएको हो ।
खाँदबारीबाट नुमसम्मको ३९ किमी सडकको ७५ प्रतिशत भौतिक प्रगति र ८० दशमलव ७१ प्रतिशत वित्तिय प्रगति भइसकेको उत्तर दक्षिण कोशी सडक आयोजना कार्यालयका प्रमुख रामबहादर गुरुङले जानकारी दिए । उनका अनुसार सडक कालोपत्रका लागि हालसम्म रु एक अर्ब २५ करोड ८० लाख पाँच हजार खर्च भइसकेको छ ।
पहिलो चरणअन्तर्गत १४ किमी सडक कालोपत्र थालिएकामा ९७ प्रतिशत भौतिक प्रगति भएको सडक कार्यालयले जनाएको छ । दोस्रो चरणको १२ किमी सडकको ८४ प्रतिशत काम सम्पन्न भएको छ भने तेस्रो चरणमा हालसम्म ६२ प्रतिशत भौतिक प्रगति भएको निर्माण कम्पनी शर्मा÷शिवशक्ति जेभिका प्रमुख इञ्जिनियर वैभव पाण्डेले बताए । उनका अनुसार १ अर्ब ५५ करोड ८६ लाख ७७ हजार ९७५ रुपैयाँमा तीन वटै चरणको ठेक्का लिइएको हो ।
जेभिले २०८० पुस १७ मा सम्पन्न गर्नेगरी २०७८ असार १७ गते आयोजना सम्झौता गरेको थियो । उक्त समयसम्म सन्तोषजनक प्रगति नभएपछि २०८० असार १४ गतेसम्मका लागि पहिलो पटक म्याद थपिएको थियो । म्याद थप गरिएपनि शिवशक्तिले काम नगरेपछि आयोजना कार्यालयले स्पष्टीकरण सोधी धरौटी रकमसमेत जफत गरेको थियो । उक्त कम्पनीले हालसम्म तीन पटक म्याद थप गरिसकेको छ ।
जोगवनी(किमाथाङ्का खण्डले उत्तरी क्षेत्रको नाका जोडियो
सदरमुकाम खाँदबारीबाट नुमसम्मको ३९ किमी सडक तीव्र गतिमा कालोपत्र भइरहेको छ । कोशी राजमार्गअन्तर्गत मोरङको जोगवनीबाट चीनको सीमासम्म किमाथाङ्का जोड्ने ३५७ किलोमिटर सडकको ट्रयाक खोल्न काम सम्पन्न भएको छ ।
चीन सीमासँग जोडिएको किमाथाङ्का क्षेत्रमा सडक पुगेपछि पर्यटन प्रवर्द्धन, व्यापार विस्तार तथा सीमावर्ती क्षेत्रको विकासमा नयाँ सम्भावना देखिएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले बताए । दशकौँदेखि दुर्गम हिमाली बस्तीमा सीमित रहेको किमाथाङ्का अब राष्ट्रिय सडक सञ्जालसँग प्रत्यक्ष जोडिएसँगै गाउँमा विकास आइपुगेको उनको भनाइ छ ।
कोशी प्रदेशको आर्थिक समृद्धिमा दीर्घकालीन योगदान पुर्याउने विश्वाससहित यस सडकलाई उत्तर–दक्षिण रणनीतिक महत्वको मार्गका रूपमा हेरिएको अध्यक्ष भोटेले बताए । “खाँदबारीबाट वरुण नदीभन्दा माथिल्लो क्षेत्र अझै जोखिमपूर्ण र अप्ठ्यारो छ ।
उक्त क्षेत्रमा पनि सडक स्तरोन्नति भइरहेको छ । सबैभन्दा चुनौतीपूर्ण खण्ड मानिएको भोटखोला गाउँपालिका क्षेत्रमा नेपाली सेनाले च्याम्ताङबाट घोङ्घोप्पासम्म सडक निर्माण गरेको थियो”, उनले भने ।
अध्यक्ष भोटेका अनुसार गत वैशाख २८ गते सेनाले उक्त सडकअन्तर्गत १० दशमलव ८१ किमी आयोजना कार्यालयलाई हस्तान्तरण गरिसकेको छ । सडक हस्तान्तरण भएसँगै यही जेठ १ गते खाद्यान्न बोकेका तीन वटा ट्याक्टर पहिलो पटक किमाथाङ्का नाकामा पुगेका हुन् ।
भोटखोलाको च्याम्ताङबाट घोङ्घोप्पाको कडा चट्टान भएको भीर छिचोलिएपछि जिल्ला सदरमुकाम खाादबारीबाट हिँडेको सवारी पहिलो पटक किमाथाङ्कामा पुगेका उनले जानकारी दिए ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया