अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत कीर्ते गरेपछि…
काठमाडौं । काठमाडौं जिल्ला अदालतको लेटरप्याड, अदालतका अधिकारीहरूको हस्ताक्षर तथा आधिकारिक छापसमेत कीर्ते गरी नक्कली कागजात तयार पारेको आरोपमा एक जना पक्राउ परेका छन्।
गोरखा जिल्लाको आरुघाट गाउँपालिका–७ स्थायी घर भई हाल काठमाडौंको टोखा क्षेत्रमा बसोबास गर्दै आएका २६ वर्षीय विवस अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का अनुसार अधिकारीले काठमाडौं जिल्ला अदालतको लेटरप्याड प्रयोग गरी मुद्दा खोल्ने तथा पुनः प्रमाणीकरणसम्बन्धी नक्कली सूचना तयार पारेका थिए। उनले उक्त कागजातमा मुद्दाको अन्तिम फैसला पश्चात् आफ्नो बैंक खातामा दुई करोड १३ लाख रुपैयाँ जम्मा हुने व्यहोरा समेत उल्लेख गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
सिआइबीका सहप्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्र खड्काका अनुसार अधिकारीले सेवा शुल्क भुक्तानीसम्बन्धी झुट्टा कागजातसमेत तयार गरी अदालतबाट एक लाख छ हजार रुपैयाँ बुझाउन आदेश दिइएको भनी अस्वाभाविक विवरण समावेश गरेका थिए।
अनुसन्धानका क्रममा उनले अदालतका न्यायाधीश, श्रेस्तेदार तथा शाखा अधिकृतहरूको हस्ताक्षर नक्कल गर्नुका साथै अदालतको छापसमेत कीर्ते गरी कागजातहरू प्रयोगमा ल्याएको पाइएको प्रहरीले जनाएको छ।
काठमाडौं जिल्ला अदालतका कर्मचारीको निवेदनपछि सुरु गरिएको अनुसन्धानका आधारमा सिआइबीको टोलीले उनलाई काठमाडौंको सतुंगल क्षेत्रबाट पक्राउ गरेको हो।
प्रहरीले उनको डेरा कोठामा खानतलासी गर्दा विभिन्न कीर्ते कागजात तथा प्रमाणहरू बरामद गरेको जनाएको छ। हाल काठमाडौँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको सिआइबीले जानकारी दिएको छ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया