रास्वपा कोशी प्रदेश सभापतिमा ८ जनाको उम्मेदवारी
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोशी प्रदेश सभापति पदका लागि आठ जनाले उम्मेदवारी दर्ता गराएका छन्। प्रदेश नेतृत्व चयनका लागि सुरु भएको अधिवेशनमा सभापति पदका लागि बहुपक्षीय प्रतिस्पर्धा हुने भएको हो।
अधिवेशन सम्पन्न गराउन नवराज पुडासैनीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ। समितिका अनुसार सभापति पदका लागि सरिन तामाङ, चन्द्र राई, चन्द्रकुमार गौली, पीताम्बर तिम्सिना, वीरेन्द्र श्रेष्ठ, पारसमणि गेलाल, खगेन्द्र कटुवाल र नारायणप्रसाद घिमिरेले उम्मेदवारी दर्ता गराएका छन्।
त्यसैगरी, प्रदेश समिति सदस्य पदका लागि ७१ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।
मोरङको विराटचोकमा बुधबारदेखि सुरु भएको प्रदेश अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। पार्टी विधानअनुसार कोशी प्रदेश कार्यसमिति ६१ सदस्यीय रहने व्यवस्था छ। अधिवेशनबाट सभापति निर्वाचित भएपछि प्रदेश समिति सदस्यहरूमध्येबाट उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री, कोषाध्यक्ष तथा प्रवक्ता चयन गरिनेछ।
रास्वपाले यसअघि कोशी प्रदेशका १४ वटै जिल्लामा जिल्ला अधिवेशन तथा जिल्ला भेला सम्पन्न गरिसकेको छ। अधिकांश जिल्लामा निर्वाचनमार्फत नेतृत्व चयन भएकाले प्रदेश अधिवेशनमा पनि प्रतिस्पर्धात्मक चुनाव हुने अपेक्षा गरिएको छ।
पार्टी विधानअनुसार प्रदेश कार्यसमितिमा सभापति, उपसभापति, महामन्त्री, दुई जना सहमहामन्त्री (फरक लिङ्गबाट), कोषाध्यक्ष र प्रवक्तासहितको पदाधिकारी संरचना रहने व्यवस्था छ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया