अनुमतिबिनै सञ्चालन भइरहेको मारिया अस्पताल सिल, तीन चिनियाँ चिकित्सकको दर्ता निलम्बन
काठमाडौँ । बालुवाटारस्थित मारिया अस्पताल (मारिया हेल्थ सेन्टर प्रालि) आवश्यक कानुनी अनुमति बिना सञ्चालन भइरहेको भेटिएपछि नेपाल मेडिकल काउन्सिलले अस्पताल सिलबन्दी गरी बन्द गरेको छ।
काउन्सिलको अनुगमनका क्रममा अस्पतालले आवश्यक स्वीकृति तथा मापदण्ड पूरा नगरी सेवा सञ्चालन गरिरहेको पुष्टि भएपछि तत्कालका लागि सञ्चालन रोकिएको निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डेले जानकारी दिए।
काउन्सिलले अस्पतालका सञ्चालकविरुद्ध आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं तथा जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको जनाएको छ।
यसैबीच, आवश्यक अनुमति र क्लिनिकल मापदण्ड पूरा नगरी चिकित्सा अभ्यासमा संलग्न रहेको पाइएपछि तीन जना चिनियाँ नागरिकको चिकित्सक अभ्याससम्बन्धी अस्थायी दर्ता निलम्बन गरिएको छ।
त्यसैगरी, अस्पतालको नाम र बोर्ड प्रयोग गरी चिकित्सकीय आचारसंहिता उल्लङ्घन गरेको आरोपमा संलग्न एक नेपाली चिकित्सकलाई समेत तोकिएको समयभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको काउन्सिलले जनाएको छ।
नेपाल मेडिकल काउन्सिलले स्वास्थ्य सेवा क्षेत्रमा कानुनी प्रक्रिया, व्यावसायिक मापदण्ड तथा आचारसंहिताको पालना सुनिश्चित गर्न अनुगमनलाई थप प्रभावकारी बनाइने जनाएको छ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया