सरकारी गाडी चोरी प्रकरण : गाडी चोर्ने व्यक्ति मानसिक रोगी भएको प्रहरी निष्कर्ष
काठमाडौं । ललितपुरको चापागाउँबाट हराएको गोदावरी नगरपालिकाको प्रमुख कार्यकारी अधिकृतले प्रयोग गर्ने सरकारी गाडी चोरी प्रकरणमा संलग्न व्यक्तिको मानसिक अवस्था ठीक नभएको प्रहरी निष्कर्ष रहेको छ।
जेठ २० गते बुधबार राति गोदावरी नगरपालिका–१२ दूरीखेलमा पार्किङ गरिएको बा.२ झ १८७८ नम्बरको टाटा सुमो गाडी हराएको थियो। नियमित रूपमा त्यहीँ पार्किङ गरिँदै आएको उक्त गाडी रातको समयमा रहस्यमय तरिकाले गायब भएको थियो।
प्रहरीको खोजीपछि मंगलबार गाडी गोदावरी नगरपालिका–१४ ठैबमा लुकाइएको अवस्थामा फेला परेको हो। अनुसन्धानका क्रममा गाडी चोरीमा संलग्न व्यक्ति स्थानीय ३३ वर्षीय श्यामभाइ परियार रहेको खुलेको प्रहरीले जनाएको छ।
बाडेगाउँ स्थायी घर भएका परियार हाल ठैबमा दिदीको घरमा बस्दै आएका थिए। प्रहरीका अनुसार उनी विगतमा सवारी चालकका रूपमा काम गर्दै आएका थिए तर मदिरा तथा लागुऔषधको कुलतका कारण पेशा र पारिवारिक सम्बन्धबाट टाढिएका थिए।
प्रहरी स्रोतका अनुसार उनले चोरी गरिएको गाडी सरकारी भएको जानकारीसमेत नपाएको दाबी गरेका छन्। यसअघि पनि उनी चालक नरहेका गाडी अनधिकृत रूपमा चलाउने र कहिलेकाहीँ लुकाउने व्यवहार गर्दै आएको अनुसन्धानबाट खुलेको छ।
घटनाको रात दूरीखेलमा पार्किङ गरिएको गाडी देखेपछि उनले ढोका खोलेर, सवारी सुरु गर्ने तरिका अपनाई गाडी लिएर गएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
प्रहरीसँगको सोधपुछमा उनले ‘किन त्यस्तो गरे?’ भन्ने प्रश्नमा ‘त्यत्तिकै’ भन्ने जवाफ दिएका थिए। उनको मानसिक अवस्था परीक्षणका लागि मानसिक अस्पताल पठाइने तयारी गरिएको छ।
प्रचलित कानुनअनुसार अपराध भएको समयमा व्यक्तिले आफ्नो कामको प्रकृति र परिणाम बुझ्न नसक्ने अवस्थामा मानसिक रूपमा असक्षम भएमा त्यस्तो व्यक्तिलाई फौजदारी दायित्वबाट छुट दिन सकिने व्यवस्था रहेको प्रहरीको भनाइ छ। यस्तो अवस्थामा कारबाहीको सट्टा उपचार र मनोवैज्ञानिक सहयोगमा जोड दिइने कानुनी अभ्यास रहेको छ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया