Techie IT
KTM Post
बुधबार, ३ असार, २०८३

नेपाल–पेरु कूटनीतिक सम्बन्धको ५० वर्ष : मित्रता र सहकार्यमा जोड


काठमाडौं । पेरु रिपब्लिकको २०५औँ स्वतन्त्रता दिवस तथा नेपाल–पेरु कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा एक विशेष समारोह आयोजना गरिएको छ ।

शुक्रबार साँझ आयोजित उक्त समारोहमा भारत तथा नेपालका लागि पेरुका राजदूत हाभियर पाउलिनिच र नेपालका लागि पेरुका अवैतनिक वाणिज्यदूत सुमितकुमार अग्रवालले संयुक्त रूपमा आतिथ्यता गरेका थिए।

समारोहमा नेपाल सरकारका उच्च अधिकारीहरू, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, कूटनीतिक नियोगका प्रमुखहरू, व्यवसायी तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत पाउलिनिचले नेपाल र पेरुबीचको पाँच दशक लामो सम्बन्ध मित्रता, आपसी सम्मान र सौहार्दपूर्ण सहकार्यमा आधारित रहेको बताए। हिमालय र एन्डिज पर्वत शृङ्खलाले दुवै देशको जनजीवन र संस्कृतिलाई प्रभावित गरेकाले नेपाल र पेरुबीच विशेष आत्मीयता रहेको उनको भनाइ थियो।

राजदूत पाउलिनिचले पर्वतीय भौगोलिक अवस्थाले सिर्जना गरेका चुनौती र अवसरहरूको सामना गर्न दुवै देशले प्राप्त गरेका अनुभवहरू सहकार्यका लागि महत्त्वपूर्ण आधार भएको बताए।

उनले राजनीतिक संवाद, आर्थिक तथा व्यापारिक आदानप्रदान, शैक्षिक तथा सांस्कृतिक सम्बन्ध र जनस्तरको सम्पर्कलाई अझ सुदृढ बनाउन पेरु प्रतिबद्ध रहेको स्पष्ट पारे।

साथै, उनले दुई देशबीच उच्च पहाडी कृषि, जलस्रोत व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण, पर्वतीय तथा ग्रामीण पर्यटन, नवीकरणीय ऊर्जा र दिगो विकासका क्षेत्रमा सहकार्य विस्तार गर्न सकिने ठूलो सम्भावना रहेको औँल्याए।

सो अवसरमा नेपाल सरकारका तर्फबाट पेरुको स्वतन्त्रता दिवसको शुभकामना व्यक्त गर्दै दुई देशबीचको कूटनीतिक सम्बन्धलाई आगामी दिनमा थप उचाइमा पुर्याउने प्रतिबद्धता जनाइएको थियो।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट