चिया निर्यातको समस्या समाधानका लागि भारतसँग कूटनीतिक पहल भइरहेको छ : कृषिमन्त्री चौधरी
काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले भारततर्फ चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारले प्राविधिक तथा कूटनीतिक तहमा सक्रिय पहल गरिरहेको बताएकी छन्।
बुधबार प्रतिनिधिसभामा मन्त्रालयगत विनियोजन शीर्षकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले चिया उद्योगीहरूको समस्याप्रति सरकार गम्भीर रहेको स्पष्ट पारिन्।
उनले चिया निर्यातमा देखिएको अवरोध हटाउन सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय र वार्ता भइरहेको जानकारी दिँदै समस्या समाधान सकारात्मक दिशातर्फ अघि बढिरहेको बताइन्।
“विगतमा जस्तै चिया निर्यातलाई सहज बनाउन र चिया उद्योगीहरूले भोगिरहेका समस्याको समाधान गर्न मन्त्रालय गम्भीरतापूर्वक लागिरहेको छ। यस विषयमा प्राविधिक र कूटनीतिक दुवै तहमा आवश्यक पहल गरिएको छ र छलफल सकारात्मक दिशामा अघि बढिरहेको छ,” मन्त्री चौधरीले भनिन्।
पछिल्ला तीन दिनदेखि इलामसहित देशका विभिन्न जिल्लाका चिया उद्योगीहरूले भारततर्फ निर्यातमा समस्या आएको भन्दै उद्योग सञ्चालन बन्द गरेका छन्। उद्योगीहरूले निर्यात प्रक्रियामा देखिएका अवरोध हटाउन सरकारको तत्काल हस्तक्षेप माग गर्दै आएका छन्।
मन्त्री चौधरीले चिया क्षेत्र नेपालको महत्वपूर्ण निर्यातमुखी कृषि उद्योग भएकाले यसको संरक्षण र प्रवर्द्धन सरकारको प्राथमिकतामा रहेको उल्लेख गरिन्। उनले निर्यातमा देखिएको समस्या समाधान गरी उद्योगीहरूको व्यवसायिक वातावरण सहज बनाउन आवश्यक कदम चालिने प्रतिबद्धता समेत व्यक्त गरिन्।
साथै, मन्त्रालयले अघि सारेका कृषि तथा वातावरणसम्बन्धी कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा सांसदहरूको रचनात्मक सहयोग आवश्यक रहेको बताउँदै उनले सरकार र संसदबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने धारणा राखिन्।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया