सभामुख अर्याल र बङ्गलादेशी राजदूतबीच भेटवार्ता, द्विपक्षीय सहकार्य विस्तारमा जोड
काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि बङ्गलादेशका राजदूत मो. शफिकुर रहमानबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा सभामुख अर्यालले नेपाल–बङ्गलादेश सम्बन्ध आपसी सम्मान, विश्वास र समानतामा आधारित रहेको उल्लेख गर्दै दुई देशबीचको मित्रवत् सम्बन्धलाई थप सुदृढ बनाउन नेपाल प्रतिबद्ध रहेको बताए। उनले द्विपक्षीय सहकार्यलाई नेपालले उच्च प्राथमिकतामा राखेको पनि स्पष्ट पारे।
सभामुख अर्यालले बङ्गलादेशले आर्थिक तथा भौतिक पूर्वाधार विकासका क्षेत्रमा हासिल गरेको प्रगतिप्रति प्रशंसा व्यक्त गर्दै त्यहाँका सफल अभ्यासहरू नेपालका लागि पनि प्रेरणादायी र उपयोगी हुन सक्ने धारणा राखे।
भेटवार्ताका क्रममा शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जा, व्यापार, पर्यटन, जलवायु परिवर्तन तथा क्षेत्रीय सहकार्यका विविध विषयमा छलफल भएको थियो। सभामुख अर्यालले खेलकुद, सांस्कृतिक आदानप्रदान तथा जनस्तरीय सम्पर्कले दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाएको उल्लेख गरे।
त्यस अवसरमा राजदूत मो. शफिकुर रहमानले जलवायु परिवर्तन, प्राकृतिक विपद् व्यवस्थापन तथा आर्थिक रूपान्तरणजस्ता साझा चुनौतीहरूको सामना गर्न नेपाल र बङ्गलादेशबीच अनुभव आदानप्रदान र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए।
उनले ऊर्जा, शिक्षा, स्वास्थ्य, व्यापार र पर्यटनलगायतका क्षेत्रमा हाल भइरहेको सहकार्यलाई विस्तार गर्न बङ्गलादेश सकारात्मक रहेको बताउँदै आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझ उचाइमा पुग्ने विश्वास व्यक्त गरे।
भेटवार्तालाई नेपाल–बङ्गलादेश सम्बन्ध थप सुदृढ बनाउने तथा बहुआयामिक सहकार्य विस्तार गर्ने दिशामा महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया