कुवेतमा अलपत्र नेपाली महिलाको उद्धार गर्न राप्रपाको माग, सरकारको ध्यानाकर्षण
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले कुवेतका विभिन्न जेल तथा समस्याग्रस्त अवस्थामा रहेका नेपाली महिलाहरूको तत्काल उद्धार गर्न सरकारसँग माग गरेकी छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा विशेष ध्यानाकर्षण गराउँदै सांसद ओलीले वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेका नेपाली महिलाहरूले अमानवीय व्यवहार, शोषण र विभिन्न समस्याको सामना गरिरहेको बताइन्।
उनले कुवेतमा समस्यामा परेकी नेपाली नागरिक शर्मिला दर्जीलाई लामो प्रयासपछि उद्धार गरी नेपाल फर्काउन सफल भएको जानकारी दिँदै त्यहाँ अझै धेरै नेपाली महिलाहरू कठिन परिस्थितिमा जीवन बिताइरहेको उल्लेख गरिन्।
सांसद ओलीका अनुसार शर्मिला दर्जीको उद्धारका लागि उनले प्रतिनिधिसभामा तीन पटकसम्म विषय उठाएकी थिइन्। साथै नेपाली राजदूतावास र सम्बन्धित निकायसँग निरन्तर समन्वय गरेपछि मात्र उनको स्वदेश फिर्ती सम्भव भएको थियो।
“शर्मिला दर्जीलाई नेपाल ल्याउन सफल भए पनि कुवेतका जेल तथा विभिन्न समस्यामा फसेका अन्य नेपाली महिलाहरूको अवस्था अझै चिन्ताजनक छ,” उनले सदनमा भनिन्।
ओलीले वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा समस्यामा परेका नेपाली नागरिकको संरक्षण र उद्धारलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन्। विशेषगरी महिला श्रमिकहरूको सुरक्षा, कानुनी संरक्षण तथा उद्धारका लागि प्रभावकारी संयन्त्र सक्रिय बनाउन उनले सरकारको ध्यानाकर्षण गराइन्।
संसदमा उठेको उक्त विषयले वैदेशिक रोजगारीमा रहेका नेपाली महिलाको सुरक्षा र उद्धार सम्बन्धी प्रश्नलाई पुनः केन्द्रमा ल्याएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया