Techie IT
KTM Post
मंगलबार, १६ असार, २०८३

जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै पाराग्वे विश्वकपको अन्तिम १६ मा, २४ वर्षपछिको बदला पूरा


काठमाडौं । पेनाल्टी सुटआउटमा जर्मनीलाई पराजित गर्दै पाराग्वेले फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान बनाएको छ। बोस्टनमा मंगलबार बिहान सम्पन्न राउन्ड अफ ३२ को रोमाञ्चक प्रतिस्पर्धामा पाराग्वेले सडनडेथमा ४–३ को जित निकाल्दै ऐतिहासिक सफलता हात पारेको हो।

निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। यस विश्वकपमा पेनाल्टीमार्फत नतिजा टुंगिएको यो पहिलो खेलसमेत बनेको छ।

विश्वकप इतिहासमा जर्मनी पहिलो पटक पेनाल्टी सुटआउटमा पराजित भएको हो। यससँगै पाराग्वेले सन् २००२ को विश्वकपमा जर्मनीसँग भोगेको हारको दुई दशकभन्दा बढी समयपछि बदला लिन सफल भएको छ।खेलको पहिलो हाफमा पाराग्वेले उत्कृष्ट प्रदर्शन गर्दै ४२औँ मिनेटमा जुलियो इन्सिस्सोको गोलमार्फत अग्रता बनाएको थियो। तर, दोस्रो हाफको ५४औँ मिनेटमा काई हाभार्ट्सले गोल गर्दै जर्मनीलाई खेलमा फर्काए।

अतिरिक्त समयको १०२औँ मिनेटमा जर्मनीले अग्रता लिने अवसर पाए पनि जोनाथन ताहको गोल भिडियो सहायक रेफ्री (भिएआर) को निर्णयपछि अमान्य घोषित भयो। फल भएको निष्कर्ष निकालिएपछि खेल फेरि बराबरीमै कायम रह्यो।

पेनाल्टी सुटआउटमा दुवै टोलीका गोलकिपरले उत्कृष्ट प्रदर्शन गरे। प्रारम्भिक पाँच प्रहारपछि स्कोर ३–३ को बराबरीमा पुगेको थियो। जर्मनीका जोसुआ किम्मिच, जमाल मुसिएला र नादिएम अमिरीले गोल गरे पनि काई हाभार्ट्स र निक वाल्टमेडको प्रहार पाराग्वेका गोलकिपर ओर्लान्डो गिलले रोके।

सडनडेथमा जर्मनीका जोनाथन ताहको प्रहार पोस्टमाथिबाट बाहिरिएपछि पाराग्वेले अवसर पायो। त्यसपछि जोसे क्यानालेले निर्णायक पेनाल्टीलाई गोलमा परिणत गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए। पाराग्वेका माउरिसियो, गोस्ताभो गोमेज र माथियस गालार्जाले पनि पेनाल्टीमा सफलता हासिल गरेका थिए।

यो हारसँगै जर्मनीले सन् २०१४ मा विश्वकप जितेपछि नकआउट चरणमा जित निकाल्न नसक्ने क्रमलाई अन्त्य गर्न सकेन। पछिल्ला दुई संस्करणमा समूह चरणमै सीमित भएको जर्मनी यसपटक नकआउटमा पुगे पनि पहिलो चरणमै बाहिरिएको छ।जारी विश्वकपमा बाहिरिने पूर्व विश्वविजेता राष्ट्रहरूको सूचीमा जर्मनी उरुग्वेपछि दोस्रो टोली बनेको छ। यता, पाराग्वेले भने विश्वकप इतिहासमा दोस्रो पटक नकआउट चरण पार गर्दै नयाँ इतिहास रचेको छ।

यसअघि सन् २०१० को दक्षिण अफ्रिका विश्वकपमा जापानलाई पेनाल्टी सुटआउटमा हराउँदै क्वार्टरफाइनल पुगेको पाराग्वेले यसपटक जर्मनीलाई स्तब्ध पार्दै अर्को स्मरणीय उपलब्धि हासिल गरेको हो। अब पाराग्वेले अन्तिम १६ मा फ्रान्स र स्वीडेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


ताजा अपडेट