विश्वकप लिग–२ त्रिदेशीय शृङ्खला खेल्ने नेपाली टोलीको बिदाइ
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा आयोजना हुने त्रिदेशीय एकदिवसीय शृङ्खलाका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई आइतबार औपचारिक रूपमा बिदाइ गरिएको छ।
नेदरल्यान्ड्स र नामिबियासँग प्रतिस्पर्धा गर्ने नेपाली टोलीलाई आयोजित विशेष कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)ले सफल यात्राको शुभकामना दिँदै बिदाइ गरेको हो।
बिदाइ कार्यक्रममा क्यानका सचिव पारस खड्काले नेपाली टोलीले गत वर्ष स्कटल्यान्डमा गरेको उत्कृष्ट प्रदर्शनलाई यसपटक पनि निरन्तरता दिने विश्वास व्यक्त गरे। उनले टोलीको तयारी र खेलाडीहरूको मनोबल सकारात्मक रहेको उल्लेख गर्दै राम्रो नतिजाको अपेक्षा गरे।टोलीका कप्तान रोहित पौडेलले पनि खेलाडीहरूको संयोजन सन्तुलित रहेको र प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।
‘हाम्रो टोली निकै सन्तुलित छ। नेदरल्यान्ड्स र नामिबियाविरुद्ध राम्रो प्रदर्शन गर्ने लक्ष्यका साथ हामी मानसिक र प्राविधिक रूपमा तयारीमा छौँ। प्रत्येक खेलाडीले आफ्नो शतप्रतिशत दिनेछ भन्ने विश्वास छ,’ कप्तान पौडेलले भने।
क्यानका अनुसार नेपालले जुलाई २१ देखि सुरु हुने लिग–२ त्रिदेशीय शृङ्खलाअघि जर्सीमा तयारी क्याम्प सञ्चालन गर्नेछ। तयारीका क्रममा टोलीले जुलाई १३ र १५ मा दुई अभ्यास एकदिवसीय खेल खेल्ने कार्यक्रम रहेको छ।
आगामी शृङ्खला नेपालका लागि लिग–२ को अंकतालिका सुधार गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
क्याटेगोरी : खेलकुद













प्रतिक्रिया