प्रचण्डलाई झलनाथको खुला पत्र : पार्टीभित्र वैचारिक विचलन र नेतृत्व शैलीप्रति गम्भीर असन्तुष्टि
काठमाडौं । नेपाल कम्युनिष्ट आन्दोलनमा लामो समयदेखि लागेका पूर्व प्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेता झलनाथ खनालले नेपाल कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डलाई सम्बोधन गर्दै खुला पत्र सार्वजनिक गरेका छन्। पत्रमा उनले पार्टी एकीकरणपछि आफूलाई कुनै जिम्मेवारी नदिइएको, नेतृत्वले गरेका सहमतिहरू कार्यान्वयन नगरेको तथा पार्टी वैचारिक रूपमा विचलित भएको उनले बताएका छन्।
नेता खनालले संयोजक प्रचण्डलाई लेखेको ३६ बुँदे असन्तुष्टि पत्रमा नेकपाको नेतृत्व विचलित भएकाले यही नेतृत्वले पार्टीलाई महाधिवेशनसम्म लैजान नसक्ने बताएका छन् ।
उनले पार्टी नेतृत्वले फरक मत राख्ने नेता तथा कार्यकर्ताप्रति विभेदपूर्ण व्यवहार गरेको आरोप समेत लगाएका छन्। साथै पार्टीभित्रको निर्णय प्रक्रिया निष्पक्ष नभएको र केही व्यक्तिको प्रभावमा नेतृत्व चलेको दाबी गरिएको छ।
पत्रमा पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता माधव नेपालसँग सम्बन्धित मुद्दा र पार्टीको नैतिकतासम्बन्धी प्रश्नहरू पनि उठाइएको छ। लेखकले गम्भीर आरोप लागेका व्यक्तिलाई उच्च जिम्मेवारी दिनु उपयुक्त नभएको तर्क गरेका छन्।
त्यसैगरी, नेकपा तथा कम्युनिष्ट आन्दोलनको वैचारिक दिशा, बहुदलीय जनवाद, समाजवाद र पार्टी एकीकरणका विषयमा विस्तृत समीक्षा आवश्यक रहेको उनको भनाइ छ।
‘पार्टीभित्र दिशाहीनता, निराशा, निष्क्रियता र पलायनका प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै नेतृत्वप्रति कार्यकर्ता र जनताको भरोसा कमजोर बन्दै गएको बताएका छन् । ‘तपाईं आफैँमा पनि अहिले आकर्षण छैन, नेतृत्वमा आशा र भरोसा एकदमै घटेको छ,’ खनालको असन्तुष्टि छ । उनले संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपाललाई राजीनामा गरेर विशेष बैठकमार्फत नयाँ, योग्य र विचारवान नेतालाई संयोजक चयन गर्न माग गरेका छन् ।
खनालले प्रचण्डलाई लेखेको पत्रमा कहिलेकाहीँ सानो कमजोरीले सिङ्गो संरचना र उपलब्धि नै दुर्घटनामा पर्न सक्ने चेतावनी दिँदै त्यस्तो गल्ती प्रचण्ड आफैँले गरेको नेकपा कालको घटना स्मरण गराएका छन् ।
‘मलाई थाहा छैन । हामीले २०७५ साल जेठ ३ गते एमाले र माओवादी पार्टी एकता गर्यौँ’, खनालले भनेका छन्, ‘तपाईँ र ओली त्यो एकीकृत नेकपा रुपी विशाल जेटको ‘दुई पाइलट’ घोषित हुनुभयो । अब तपाईँ दुई जनाले त्यो नेकपालाई वैधानिक रूपले पनि अघि बढाउनका निम्ति निर्वाचन आयोगमा पार्टी दर्ता गर्नुपर्ने थियो ।’
खनालले त्यो दर्ता गर्दा आफ्नो पार्टी ठुलो र शक्तिशाली भएको दम्भका आधारमा अर्को दर्ता भइसकेको पार्टीको नाउँमा नै नेकपा भनेर दर्ता गराएको स्मरण गराएका छन् ।
‘त्यो कमरेड केपी ओली र कमरेड प्रचण्डको आत्मघाती गल्ती हो । तपाईँहरूले दर्ता गराउन त केही कारिन्दा पठाएर पनि गराउनु भयो होला । तर त्यसवेला निर्वाचन आयोगले त्यसो नगरौँ भन्दाभन्दै जबरजस्त दर्ता भएको रहेछ । त्यसको दोष कारिन्दा वा कोही कार्यकर्तालाई लगाउन मिल्दैन । तर तपाईं दुई जनालाई नै मुख्य रूपले दोष लाग्छ’, खनालले भनेका छन् ।
पत्रले पार्टीभित्र वैचारिक बहस, नेतृत्वको भूमिका तथा भविष्यको राजनीतिक दिशाबारे नयाँ चर्चा सुरु गर्न सक्ने राजनीतिक विश्लेषकहरूको अनुमान छ।
खुलापत्र पढ्नुहोस् :







क्याटेगोरी : राजनीति













प्रतिक्रिया