Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं : अर्थमन्त्री


काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख साझेदारका रूपमा स्वीकार गर्दै लगानीमैत्री वातावरण निर्माण र कर प्रणालीमा सुधारमार्फत आर्थिक गतिविधि विस्तार गर्ने सरकारको नीति रहेको बताएका छन्।

आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारका लागि अनुकूल लगानी वातावरण र अर्थतन्त्रका समसामयिक विषयमा आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले निजी क्षेत्रलाई प्रोत्साहन नगरी देशको अर्थतन्त्रले गति लिन नसक्ने स्पष्ट पारे।उनले सरकारको आर्थिक दर्शनअनुसार व्यवसायीलाई खुला रूपमा लगानी गर्न, कर तिर्न र राज्यप्रति उत्तरदायी बन्न प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कर तथा नीतिगत सुधार अघि बढाइएको बताए। करको दर घटाएर राजस्व वृद्धि गर्ने सिद्धान्तअनुसार सरकारले कदम चालिरहेको उनको भनाइ थियो।

मन्त्री वाग्लेले लामो समयदेखि आयकरको सीमा पुनरावलोकन नभएको उल्लेख गर्दै वर्तमान कर संरचनामा सुधार आवश्यक रहेको बताए। उनले विभिन्न शुल्क, दस्तुर, जरिवाना तथा ब्याजका कारण व्यवसायीमाथि एक खर्ब रुपैयाँभन्दा बढी बक्यौता थुप्रिएको जानकारी दिँदै त्यसबाट राहत दिन विशेष व्यवस्था गरिएको बताए।उनका अनुसार तोकिएको मूल कर रकम भुक्तानी गरेपछि थप शुल्क, जरिवाना तथा ब्याज मिनाहा हुने व्यवस्था गरिएको छ। यसले आर्थिक रूपमा समस्यामा परेका व्यवसायीलाई पुनः व्यवसाय सञ्चालन गर्न सहज वातावरण सिर्जना गर्ने विश्वास उनले व्यक्त गरे।

अर्थमन्त्री वाग्लेले आर्थिक सुधारका लागि बजेट नै कुर्नुपर्ने अवस्था नरहेको उल्लेख गर्दै मन्त्रिपरिषद् र अर्थ मन्त्रालयबाट समेत नीतिगत निर्णयमार्फत सुधारका कार्यक्रम अघि बढाउन सकिने बताए। उनले वर्तमान सरकारले सीमित समयमै उद्यमी तथा व्यवसायीमैत्री नीति ल्याएको दाबी गरे।

विगतमा निजी क्षेत्रप्रति नकारात्मक धारणा राख्ने तर व्यवहारमा उनीहरूमाथि निर्भर रहने प्रवृत्ति रहेको उल्लेख गर्दै उनले सरकारले त्यस्तो दोहोरो चरित्र अन्त्य गर्न खोजेको बताए। निजी क्षेत्रलाई सम्मानजनक ढंगले अघि बढ्न सक्ने वातावरण निर्माण गर्नु सरकारको प्राथमिकता रहेको उनको भनाइ थियो।सरकारले व्यवसाय सञ्चालनमा पारदर्शिता, कर तिर्ने संस्कृतिको विकास तथा राज्यप्रति उत्तरदायित्व बढाउने वातावरण निर्माण गर्दै निजी क्षेत्रसँग सहकार्यका आधारमा अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्य लिएको मन्त्री वाग्लेले बताए।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट