Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

रास्वपाको दस्तावेजले लोकतन्त्र विरोधी गन्ध दिँदैछ: युवराज दुलाल


नेकपाका प्रमुख सचेतक युवराज दुलालले रास्वपाको महाधिवेशनबाट पारित भएको प्रस्ताव लोकतन्त्र विरोधी रहेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा उनले लोकप्रियताको घुम्टोले जितेको शक्तिले गणतन्त्रको संरचनालाई जिस्काई–जिस्काई कपट र षड्यन्त्र गरिरहेको टिप्पणी गरे।उनले रास्वपाको विधानमा लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको पनि बताए।

‘रुलिङ पार्टी रास्वपाको महाविधेवशनबाट पारित भएका भनिएका दस्तावेजहरुमा लोकतन्त्र विरोधी गन्ध आइरहेको छ,’ उनले भने, ‘संसदीय निर्वाचनको सङ्ख्यामा सानो हौँ या ठूलो, त्यो आवधिक परिणाम हो। हामी आवधिक चुनावमा यो पटक तपाईँहरूसँग हारेका हौँ, सधैँका लागि हारेका होइनौँ। हामी पुनः प्रतिस्पर्धी शक्ति बनेर आउनेछौँ। दायाँ आसनमा फेरि अरू पनि बस्न आइपुग्न सक्छन् भन्ने कुरा सत्तारूढ दललाई हेक्का दिलाउन चाहन्छु।’

उनले नेपालका प्रगतिशील, लोकतान्त्रिक एवं वामपन्थी जनमतको पुनः सम्मान गर्दै देशको नेतृत्व गर्ने बताए।

‘हामी एकताबद्ध भएर नवीन विचार, नेतृत्व र पहलकदमीसहित अघि बढ्नेछौँ,’ उनले भने, ‘हामी स्वच्छ प्रतिस्पर्धासहित राष्ट्र निर्माणमा अगाडि बढ्नेछौँ। हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका विरुद्ध कुनै पनि कार्यको डटेर सामना गर्नेछौँ।’

उनले देश र संसद्लाई रास्वपाले आफ्नो मात्रै सम्झिएको भन्दै विरोध गरे।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट