केपी खनालको आरोप: कैलालीको लम्कीचुहा अस्पताल कांग्रेसले बन्न दिएन
काठमाडौं, १४ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद केपी खनालले कैलालीको लम्कीचुहा प्रादेशिक अस्पताल निर्माणमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरिरहेको आरोप लगाएका छन्।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उक्त अस्पताल निर्माणका लागि सर्वोच्च अदालतले आदेश दिइसकेको भए पनि प्रदेश र स्थानीय तहमा कांग्रेस नेतृत्वको सरकार रहेकाले काम अघि बढ्न नसकेको दाबी गरे।
खनालले आफ्नै पार्टीको नेतृत्वमा रहेका प्रदेश तथा स्थानीय सरकारले अस्पताल निर्माणमा बाधा पुर्याइरहँदा पनि कांग्रेसले त्यसप्रति कुनै जिम्मेवारी नलिएको भन्दै असन्तुष्टि व्यक्त गरे।
उनका अनुसार लम्कीचुहा अस्पतालका कर्मचारीमाथि स्थानीय सरकारले गालीगलौज गरेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भइरहे पनि त्यसबारे कांग्रेसले कुनै चासो नदेखाएको आरोप लगाए। संसदमा सरकारको आलोचना गर्ने कांग्रेसले आफ्नै नेतृत्वको प्रदेश र स्थानीय सरकारका गतिविधिबारे भने मौनता अपनाएको उनको भनाइ थियो।
सांसद खनालले कर्मचारीले अस्पताल सञ्चालनको प्रयास गरिरहे पनि काम गर्न नपाइरहेको उल्लेख गर्दै जनतासँग प्रत्यक्ष जोडिएको स्वास्थ्य सेवा प्रभावित हुँदा पनि कांग्रेसका सांसदहरूले त्यस विषयलाई संसदमा नउठाएको गुनासो गरे।
शिक्षा, स्वास्थ्य, खेलकुदलगायतका क्षेत्रमा कार्यरत कर्मचारीहरू पनि स्थानीय सरकारबाट पीडित रहेको उनको दाबी थियो। संसदबाटै उनले प्रश्न गरे, ‘कांग्रेस कहाँ छ ?’
क्याटेगोरी : राजनीति













प्रतिक्रिया