Techie IT
KTM Post
बिहीबार, १८ असार, २०८३

रास्वपा महाधिवेशनले चितवनका होटल भरिभराउ


चितवन । वाह्य पर्यटकको चहलपहल हुने सौराहाका धेरै होटलले सामान्यतया असारदेखि भदौ महिनासम्म आफ्ना कर्मचारीलाई बिदा दिने गर्दथे ।

सामान्यतया होटलको सुरक्षा र सरसफाइमा खटिनेबाहेक सबैजसो कर्मचारीले बिदा पाउँथे । तर, यस वर्ष भने असारको पहिलो साता सकिनैलाग्दा सौराहका होटल मुख्य ‘सिजनमा’जस्तै भरिभराउ छन् । होटलमा कोठा पाउन कठिन रहेका अवस्था छ ।

सौराहासहित भरतपुर आसपासका होटल व्यवसाय भीडभाड देखिनुको कारण ‘राष्ट्रिय स्वातन्त्र पार्टी’ ९रास्वपा०को महाधिवेशन हो ।

प्रतिनिधिसभा सदस्यका लाग हालै सम्पन्न निर्वाचनमा दुई तिहाइ नजिकको सङ्ख्या जित्न सफल सबैभन्दा ठूलो राजनीतिक दल ‘रास्वपा’को आज भरतपुरमा उद्घाटन हुने तीन दिने राष्ट्रिय अधिवेशनका कारण चहलपहल बढेको भनी होटल व्यवसायी खुशी देखिन्छन् ।

होटल व्यवसायी सङ्घ चितवनका अनुसार रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशमा भाग लिन आउने स्वदेशी तथा विदेशी प्रतिनिधि, शुभेच्छुक, नेता तथा कार्यकर्ता, पर्यवेक्षक, सञ्चारकर्मीलगायतको उल्लेख्य उपस्थितिका कारण चहलपहल बढेको हो । महाधिवेशनमा भाग लिन आउने प्रतिनिधिको सङ्ख्या चार हजार २११ छ ।

क्षेत्रीय होटल सङ्घ सौराहाका उपाध्यक्ष गुणराज थपलिया रास्वपाको महाधिवेशनका कारण अहिले बेमौसममा पनि अपेक्षा गरेभन्दा बढी पर्यटक वृद्धि भएको बताए । उनले भने, “आइतबार सार्वजनिक बिदा हुनथालेपछि यसअघि जस्तो बजार सुनसान थिएन । यसैबीच महाधिवेशन घोषणा भएसँगै सौराहामा चहलपहल बढेको छ । समग्रमा यस वर्ष यहाँका होटल व्यवसायी लाभान्वित भएका छन् ।” सौराहामा रहेका १५० हाराहारी होटलमा सात हजार जनाको क्षमता रहेको उनले बताए ।

सौराहाको होटल भिष्टाका सञ्चालक रमेश सिलवाल महाधिवेशनस्थल भरतपुरबाट केही टाढा भएपनि पर्यटकीयस्थलका रूपमा परिचित सौराहा घुम्नबस्न आउने नेता तथा कार्यकर्ताको सङ्ख्या उल्लेख्य रहेको बताए ।

होटल व्यवसायी सिलवाका अनुसार नेकपा एमालेको यसअघि सम्पन्न महाधिवेशनपछि रास्वपाको अधिवेशनका कारण अहिले सौराहले प्रचारप्रसारसहित वाह्यपर्यटक पाएको छ ।

सौराहाका ‘रेष्टुरेन्ट’ व्यावसायी दीपेन्द्र खतिवडा होटल बासका लागि सोधखोज गर्नेको निकै बढको छ । उनका अनुसार हिजो साँझ अधिकांश सहभागी चितवन आइपुगेकाले आजदेखि सोराह भरिभराउ हुनेछ ।

होटल व्यवसायी सङ्घअन्तर्गतका ७३१ होटल रेष्टुरेन्टमध्ये आवास सुविधा भएका अधिकांश भरिएको व्यवसायीले बताएका छन् । सङ्घका निवर्तमान अध्यक्ष कृष्ण भट्ट गत वर्षमा यतिबेला करिब ४० प्रतिशत हुनेगरेकामा अहिले ८० प्रतिशतभन्दा बढी होटल भरिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “राम्रा अधिकांश होटल भरिएका छन् । मध्यमस्तरकामा केही बाँकी छन् ।” स्तरीय होटल खोज्ने सौराहालगाएतका क्षेत्र गएको उनले बताए ।

भरतपुर गार्डेनका महाप्रबन्धक घनश्याम चापागाईं दुई दिनदेखि होटल भरिएको बताए । महाधिवेशन अवधिभर होटलमा कोठा खाली नभएको बताउँदै उनले भने, “हाम्रो होटलमा अरु बेलामा आइरहने पाहुना नै महाधिवेशनमा आएकाले भरिएको छ ।”

दियालो फुडल्याण्डका प्रबन्ध निर्देशक रमेश अधिकारी झण्डै एक हप्ता अघिदेखि नै महाधिवेशनको चहलपहल र बैठकले होटल भरिएको बताए। महाधिवेशनअघि शनिबार यसै होटलमा रास्वपाको केन्द्रीय समितिको बैठक सम्पन्न भएको थियो । चितवनमा मात्रै होइन नवलपरासीको गैँडाकोटका होटल पनि भरिएका छन् ।

गैँडाकोटमा रहेको ‘द नारायणी रिसोर्ट’का प्रबन्धनिर्देशक रविन पण्डित तीनदिनदेखि आफ्ना दुई वटै होटल भरिएको बताए ।

रास्वपाको भोजन तथा आवास उपसमितिका संयोजक राजन गौतमका अनुसार महाधिवेशनका क्रममा करिब १० हजार मानिस चितवन आएका छन् । होटल व्यवसायीसँग कोठाको विवरण माग गरी रास्वपाका प्रतिनिधिलाई यस अघिनै पठाइएको थियो ।

नेता गौतमका अनुसार होटल व्यवसायीले अन्यसमयमा भन्दा सहुलियतमा कोठा र खानाको व्यवस्था गरेका छन् । सहभागी आफैँले कोठाको खर्च तिर्नुपर्ने भएकाले घुम्न पाइने भन्दै श्रीमान्–श्रीमती र छोरा–छोरी आउनेको सङ्ख्या पनि ठूलो रहेको छ ।

आयोजकले सोमबारबाट बन्दसत्रमा मात्र खानाको व्यवस्था गरेको छ । अन्य समयमा सहभागी आफैँले खाना खानुपर्ने भएकाले होटल व्यवसायमा यसको प्रत्यक्ष रूपमा प्र्रभाव परी अहिले चितवनका होटल भरिभराउ भएका हुन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट