Techie IT
KTM Post
बिहीबार, १८ असार, २०८३

११ महिनामा रोजगारीका लागि विदेसिए ७ लाख २२ हजार नेपाली, जेठ महिनामा मात्रै ६१ हजार


काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा ७ लाख २२ हजार ८४१ व्यक्ति वैदेशिक रोजगारीका लागि बाहिरिएका छन् । चालु आव २०८२/८३ को जेठमसान्तसम्म वैदेशिक रोजगारीमा ७ लाख २२ हजार ८४१ जना गएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार यो संख्या नयाँ तथा पुनः श्रम स्वीकृति लिएर जानेको हो ।

गत महिना वैशाखमा ७४ हजार ४२९ नेपाली वैदेशिक रोजगारीमा गएका थिए, तर वैशाख महिनाको भन्दा जेठमा भने कम नेपाली वैदेशिक रोजगारीमा गएका छन् । जेठ महिनामा ६१ हजार ७२ जना नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । विभागका अनुसार वैदेशिक रोजगारीमा जानेमा पुरुषको तुलनामा महिलाको संख्या निकै कम देखिएको छ । जेठ महिनामा ५३ हजार ६९८ पुरुष र ७ हजार ३७४ महिलाले श्रम स्वीकृति लिएका छन् ।

आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहेकाले यो वर्ष पनि वैदेशिक रोजगारीमा जानेको संख्या गत वर्षकै हाराहारीमा पुग्ने देखिन्छ । गत आर्थिक वर्ष २०८१/८२ मा ८ लाख ३९ हजार २ सय ६६ जना युवा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए ।

नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको मुख्य स्रोत रहेको वैदेशिक रोजगारीप्रतिको आकर्षण अझै उच्च रहेको देखिन्छ । जेठ महिनामा नेपाली श्रमिकहरूको पहिलो रोजाइ मलेसिया बनेको छ । मलेसियाका लागि कुल १४ हजार १९२ जनाले श्रम स्वीकृति लिएका छन् । दोस्रो स्थानमा संयुक्त अरब इमिरेट्स (यूएई) रहेको छ, जहाँ १२ हजार ४५५ जना नेपाली जाने तयारीमा छन् ।

त्यस्तै, कतारमा १० हजार २१० जना साउदी अरबमा ७ हजार ५१९ जना र रोमानियामा २ हजार ५१५ जना वैदेशिक रोजगारीका लागि गएका छन् । पछिल्लो समय युरोपेली मुलुक रोमानियामा नेपाली श्रमिकको आकर्षण बढ्दो देखिएको छ । यस्तै जापानका लागि १ हजार ७५९ र कुवेतका लागि १ हजार ९६७ जनाले श्रम स्वीकृति लिएका छन् ।

पछिल्लो समय मलेसिया र खाडी मुलुकमा मात्र केन्द्रित नभई श्रमिकहरू रोमानिया, जापान र साइप्रस जस्ता नयाँ गन्तव्यतर्फ पनि आकर्षित हुन थालेका छन् । सरकारले दक्ष जनशक्ति पठाउन जोड दिएपनि अझै ठुलो हिस्सा अदक्ष कामदारका रूपमा विदेशिनुले स्वदेशमै सीप विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।

कुन महिनामा कति ?

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना, साउनमा ६८ हजार ११० वैदेशिक रोजगारीमा गएका थिए । भदौमा ६७ हजार ९७२, असोजमा ६४ हजार ६३४ र कात्तिकमा ७३ हजार ९४ जना रोजगारीका लागि विदेश गएको विभागको तथ्याङ्क छ । विभागको तथ्याङ्क अनुसार मंसिरमा ६५ हजार ७०५ र पुसमा ६२ हजार ५५९ जना रोजगारीका लागि विदेश गएका छन् ।

त्यस्तै माघमा ७० हजार ५०३ जना, फागुनमा ५२ हजार ९४४, चैतमा ६१ हजार ८१९, वैशाखमा ७४ हजार ४२९ जना र जेठमा ६१ हजार ७२ जना वैदेशिक रोजगारीका लागि गएको विभागले जनाएको छ ।

मलेसिया नेपालीको पहिलो श्रम गन्तव्य मुलुक

विगतमा जस्तै रोजगारीका लागि मलेसिया जानेको संख्या धेरै छ । जेठमा १४ हजार एक सय ९२ युवाले रोजगारीका लागि मलेसिया जान श्रम स्वीकृति लिएका छन् । त्यसपछि युएईका लागि १२ हजार चार सय ५५, कतारका लागि १० हजार दुई सय १० र साउदी अरेबियाका लागि सात हजार पाँच सय १० युवाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

अमेरिका–इजरायल र इरान युद्धले मध्यपूर्वका खाडी मुलुक तनावग्रस्त बनेका कारण नेपाली श्रमिकहरू मलेसियातर्फ आकर्षित भएका हुन् । फागुनसम्म मध्यपूर्व तनाव सुरु हुनुभन्दा पहिले मलेसिया चौथो वा पाँचौँ श्रम गन्तव्य रहेको थियो । तर, चैत महिनायता भने निरन्तर पहिलो स्थानमा छ । त्यसअघि कात्तिकदेखि फागुनसम्म साउदी अरेबिया प्रमुख श्रम गन्तव्य रहेको थियो । गत भदौमा भएको जेन–जी आन्दोलनपछि युएईले नेपाली श्रमिक प्रवेशमा कडाइ गरेपछि युवाहरू साउदीतर्फ मोडिएका थिए । तर, साउदीसमेत द्वन्द्वको चपेटामा परेर असुरक्षित भएपछि अहिले मलेसियातर्फ युवाहरू आकर्षित भएका हुन् ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट