Techie IT
KTM Post
बिहीबार, १८ असार, २०८३

नेपाल ग्रे लिस्टबाट बाहिर आउन यी ६ वटा कुरा सुधार गर्नुपर्छ : एफएटीएफ


काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणका सम्बन्धमा नेपालले गरेको सुधार प्रयास पर्याप्त नभएको भन्दै फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई ‘ग्रे लिस्ट’ (खैरो सूची) मा यथावत राखेको छ । पेरिसमा हालै सम्पन्न एफएटीएफको प्लेनरी बैठकले नेपालको प्रगतिलाई अझै पनि ‘रणनीतिक कमजोरी’ रहेको रुपमा चित्रण गरेको हो ।

सन् २०२५ फेब्रुअरीमा नेपालले एफएटीएफ र एसिया प्यासिफिक ग्रुप (एपीजी) सँग उच्चस्तरीय राजनीतिक प्रतिबद्धता जनाउँदै आफ्ना कमजोरी सुधार गर्ने वाचा गरेको थियो । नेपालले केही कानुनी सुधार गरे पनि अनुसन्धान र अभियोजनको पाटो अझै कमजोर रहेको एफएटीएफको ठहर छ ।

नेपाललाई खैरो सूची ( ग्रे लिस्ट) बाट बाहिर निस्कन एफएटीएफले मुख्य ६ वटा बुँदामा आधारित ‘एक्सन प्लान’ कार्यान्वयन गर्न निर्देशन दिएको छ :

१. जोखिमको बुझाइमा सुधार: सम्पत्ति शुद्धीकरण र आतंकवादी लगानीका मुख्य जोखिमहरूको बुझाइलाई थप प्रभावकारी र स्पष्ट बनाउनुपर्ने ।

२. जोखिममा आधारित सुपरीवेक्षण: वाणिज्य बैंकहरू, उच्च जोखिमयुक्त सहकारीहरू, क्यासिनोहरू, बहुमूल्य धातु तथा रत्न व्यवसायी र घरजग्गा (रियल इस्टेट) क्षेत्रको नियमन र सुपरीवेक्षणलाई जोखिमका आधारमा कडाइ गर्नुपर्ने ।

३. हुन्डी नियन्त्रण: वित्तीय समावेशीकरणमा बाधा नपुर्‍याई गैरकानुनी भुक्तानी सेवा प्रदायक (हुन्डी) हरूको पहिचान गर्ने र उनीहरूलाई कारबाहीको दायरामा ल्याएको पुष्टि गर्नुपर्ने ।

४. निकायगत क्षमता अभिवृद्धि र समन्वय: सम्पत्ति शुद्धीकरणको अनुसन्धान गर्ने निकायहरूको क्षमता बढाउने र ती निकायहरूबीच प्रभावकारी समन्वय कायम गर्नुपर्ने ।

५. अनुसन्धान र अभियोजनमा वृद्धि: सम्पत्ति शुद्धीकरणका मुद्दाहरूको अनुसन्धान र अदालतमा दायर गरिने मुद्दाको संख्यामा अर्थपूर्ण वृद्धि भएको देखाउनुपर्ने ।

६. सम्पत्ति रोक्का र जफत: अपराधबाट आर्जित सम्पत्ति र साधनहरूको पहिचान, खोजी, रोक्का र जफत गर्ने प्रक्रियालाई नेपालको जोखिम प्रोफाइल अनुसार प्रभावकारी रूपमा लागू गर्नुपर्ने ।

एफएटीएफ सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधमा लगानी रोक्न संसारभरका मुलुकहरुले खडा गरेको अन्तरसरकारी निकाय हो । यसले सम्पत्ति शुद्धीकरणको जोखिममा रहेका मुलुकलाई ‘ब्ल्याक लिस्ट’ तथा ‘ग्रे–लिस्ट’मा राख्दै आएको छ ।

एफएटीएफले सम्पत्ति शुद्धीकरण तथा आतंकवादमा लगानी नियन्त्रणमा कुनै पनि मुलुकको अवस्थालाई प्रभावकारितासम्बन्धी ११ सूचक तथा प्राविधिकतर्फ ४० सूचकमा मूल्यांकन गर्ने गर्छ ।

 

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट