विष्णु पौडेल पक्राउपछि एमालेभित्रको शक्ति समीकरणमा नयाँ तरंग
नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल सम्पत्ति शुद्धीकरण अनुसन्धानको क्रममा पक्राउ परेपछि नेपाली राजनीतिमा नयाँ बहस सुरु भएको छ । सुर्खेतमा पार्टीको कार्यक्रममा सहभागी भइरहेका बेला उनलाई नियन्त्रणमा लिएर काठमाडौं ल्याउने तयारी गरिएको बताइएको छ ।
पौडेल एमालेभित्र प्रभावशाली नेताका रूपमा चिनिन्छन् । पछिल्लो समय पार्टीको नेतृत्व, कार्यशैली र संगठनात्मक पुनर्संरचनाबारे खुलेर समीक्षा गर्नुपर्ने धारणा सार्वजनिक गरेपछि उनी पार्टीभित्र परिवर्तनको पक्षधर नेताका रूपमा पनि हेरिएका थिए ।
राजनीतिक विश्लेषकहरूका अनुसार पौडेलको गिरफ्तारीले एमालेभित्र चलिरहेको नेतृत्वसम्बन्धी बहसलाई प्रभावित गर्न सक्छ । विशेषगरी ओलीको विकल्प खोज्नुपर्ने वा नेतृत्वमा पुस्तान्तरण आवश्यक रहेको बहस चलिरहेका बेला पौडेल अनुसन्धानको घेरामा पर्नुले त्यस धारलाई तत्काल कमजोर बनाउन सक्ने आँकलन गरिएको छ । विगतमा पनि पार्टीभित्रको शक्ति संघर्षका क्रममा पौडेललाई सम्भावित नेतृत्व हस्तान्तरणका प्रमुख दाबेदारमध्ये एक मानिएको थियो ।
यद्यपि एमाले नेताहरूले यस घटनालाई कानुनी विषयभन्दा बढी राजनीतिक कोणबाट हेर्न थालेका छन् । पार्टीभित्र यसलाई विपक्षी शक्तिहरूले एमालेमाथि दबाब सिर्जना गर्ने प्रयासका रूपमा व्याख्या गर्ने आवाज उठेकाे छ । पार्टी अध्यक्ष केपी ओलीले
वक्तव्य निकालेर यसकाे विराेध गरेका छन् । यसअघि एमाले अध्यक्ष ओलीमाथि कारबाही हुँदा पनि पार्टीले त्यसलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएको थियो ।
क्याटेगोरी : राजनीति












प्रतिक्रिया