Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त


काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको तर्फबाट निर्वाचित तीनजना स्थानीय तहका जनप्रतिनिधिहरूको पद रिक्त भएको घोषणा गरेको छ ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भई विजयी भएका ती प्रतिनिधिहरूले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गरेपछि आयोगले उनीहरू निर्वाचित भएको पद स्वतः रिक्त भएको निर्णय गरेको हो ।

आयोगले मंगलबार एक सूचना प्रकाशित गर्दै जुम्ला, नवलपरासी र रुपन्देहीका तीन फरक–फरक तहका जनप्रतिनिधिहरूको पद रिक्त भएको जानकारी दिएको हो ।

पद रिक्त हुनेहरूमा जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढा, नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० को पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारी र रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं। ३ का वडा अध्यक्ष बिष्णु ढकाल रहेका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिले ती जनप्रतिनिधिहरू अन्य दलमा प्रवेश गरेको भनी प्रमाणसहित पद रिक्त गराउन आयोगलाई जानकारी गराएको थियो । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ मा भएको व्यवस्था अनुसार कुनै पनि निर्वाचित प्रतिनिधिले दल त्याग गरेमा उसको पद स्वतः रिक्त हुने कानूनी प्रावधान छ ।

सोही कानूनी व्यवस्था र दलको केन्द्रीय समितिको निर्णयका आधारमा निर्वाचन आयोगको असार ८ गतेको बैठकले निजहरूका पदहरू रिक्त भएको निर्णय गरेको हो । आयोगले राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम यो सूचना सर्वसाधारण र सम्बन्धित सबैको जानकारीका लागि प्रकाशन गरिएको मंगलबार जनाएको छ ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट