कैलालीको टेम्पो भीरबाट खसालिएको विवाद ५ लाख क्षतिपूर्तिमा टुंगियो, जाहेरी फिर्ता लिने सहमति
धनगढी।कैलालीमा वन कर्मचारीले एक महिलाको टेम्पो भीरबाट धकेलेर खसालेको घटनापछि चर्किएको विवाद अन्ततः ५ लाख रुपैयाँ क्षतिपूर्तिमा टुंगिएको छ।
घटनाकी पीडित धनादेवी धामीलाई वन कर्मचारीहरूले आपसी रूपमा रकम संकलन गरी ५ लाख रुपैयाँ उपलब्ध गराउने र बदलामा उनले दिएको जाहेरी फिर्ता लिने सहमति भएको स्रोतले जनाएको छ।
उक्त घटना सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि देशभर चर्चा भएको थियो। वन कर्मचारीहरूले टेम्पो भीरबाट धकेलेर खसालेको दृश्य सार्वजनिक भएसँगै घटनाले व्यापक आलोचना निम्त्याएको थियो। त्यसपछि घटनाबारे संसदमा समेत आवाज उठेको थियो।
विवाद बढेपछि घटनाको छानबिनका लागि समिति गठन गरिएको थियो। तर, समितिको प्रतिवेदन सार्वजनिक हुनुअघि नै दुवै पक्षबीच सहमति भएको हो।
स्रोतका अनुसार छानबिनका क्रममा अतिक्रमण हटाउने क्रममा केही वन कर्मचारी आवेग र उत्तेजनामा आएर अनावश्यक बल प्रयोग गरेको निष्कर्ष निकालिएको छ। यद्यपि, समितिको प्रतिवेदन भने अझै सार्वजनिक गरिएको छैन।
घटनामा संलग्न दुई जना वन कर्मचारीविरुद्ध मुद्दा चलाइएको थियो भने अन्य कर्मचारीलाई अनुसन्धानपछि उन्मुक्ति दिइएको बताइएको छ।
यता, क्षतिपूर्ति र जाहेरी फिर्ताको सहमतिपछि घटनाको कानुनी तथा नैतिक पक्षबारे भने विभिन्न तहमा बहस जारी रहेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताले सार्वजनिक पदमा रहेका कर्मचारीबाट भएको भनिएको दुव्र्यवहार केवल आर्थिक क्षतिपूर्तिमै सीमित हुनु उचित हो वा होइन भन्ने प्रश्न उठाइरहेका छन्।
क्याटेगोरी : समाचार












प्रतिक्रिया