Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

कक्षा १२ को नतिजामा कुनै त्रुटि छैन : शिक्षा मन्त्रालय


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १२ को नतिजा प्रकाशनमा कुनै प्रकारको त्रुटि वा लापरबाही नभएको स्पष्ट पारेको छ।

मंगलबार सिंहदरबारमा बसेको संघीय संसद् अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेल ले कक्षा १२ को नतिजालाई लिएर उठाइएका प्रश्नहरूलाई ‘प्रोपागान्डा’ मात्र भएको बताएका हुन्।

सचिव पौडेलका अनुसार शिक्षकहरूलाई थप जिम्मेवार बनाइएकाले यस वर्ष ग्रेड प्राप्त गर्ने विद्यार्थीको प्रतिशत बढेको हो। साथै, नतिजा छिटो प्रकाशन गर्न सफल भए पनि मूल्यांकन प्रक्रियामा कुनै सम्झौता नगरिएको उनले बताए।

उनले मन्त्रालयले नतिजा प्रकाशन प्रक्रियाबारे गरेको अध्ययनमा कुनै त्रुटि नदेखिएको उल्लेख गर्दै उत्तरपुस्तिका परीक्षण इमान्दारीपूर्वक गरिएको दाबी गरे।

बैठकमा उनले विश्वविद्यालयमा पदाधिकारी नियुक्ति सम्बन्धी प्रक्रिया विद्यमान कानुनी व्यवस्था र विश्वविद्यालय ऐनअनुसार नै अघि बढाइएको स्पष्ट पारे। खुला विश्वविद्यालयका स्थायी शिक्षक सम्बन्धी विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको पनि उनले जानकारी दिए।

सचिव पौडेलले हाल नेपालका विभिन्न विश्वविद्यालयहरूमा करिब १,४०० विदेशी विद्यार्थी अध्ययनरत रहेको जानकारी दिँदै विदेशी विद्यार्थीका लागि भिसा प्रक्रियालाई थप सहजीकरण गर्न गृह मन्त्रालयसँग छलफल भइरहेको बताए।

चिकित्सा शिक्षामा विदेशी विद्यार्थीको कोटा वृद्धि गर्ने विषयमा समेत सरकारले नीतिगत तयारी गरिरहेको उनको भनाइ छ।

साथै, स्वदेशमा अध्ययनपछि पर्याप्त रोजगारीका अवसर नहुँदा नेपाली विद्यार्थीहरू विदेशिने क्रम बढेको उल्लेख गर्दै उनले रोजगार सिर्जनामा सबै पक्षको सामूहिक प्रयास भए विद्यार्थीहरूलाई देशभित्रै अध्ययन र कामका लागि आकर्षित गर्न सकिने विश्वास व्यक्त गरे।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट