Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, पश्चिमी क्षेत्रमा तातो लहरको सम्भावना


काठमाडौं । देशका पूर्वी तथा मध्य भूभागमा मनसुनी गतिविधि सक्रिय रहँदा पश्चिमी तराईका केही क्षेत्रमा तातो लहर (लू) चल्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी तराईमा मनसुनी वायुको प्रभाव देखिएको छ। देशका बाँकी पश्चिमी क्षेत्रमा भने पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

हाल कोशी प्रदेशमा सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ भने बागमती र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको मौसमविद्हरूले बताएका छन्।आज दिउँसो हिमाली तथा पहाडी भूभागका साथै कोशी प्रदेशको तराई क्षेत्रमा सामान्य बदली रहने अनुमान गरिएको छ। मधेस प्रदेशमा आंशिक बदली रहने भए पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने प्रक्षेपण गरिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने महाशाखाको भनाइ छ। कोशी प्रदेशको तराई र मधेस प्रदेशका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।यता, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्न सक्ने तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तापक्रम उल्लेख्य रूपमा बढ्न सक्ने अनुमान गरिएको छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभाग र कोशीको तराई क्षेत्रमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। मधेस तथा पश्चिमी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने भए पनि तराई क्षेत्रको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।महाशाखाले चट्याङ, वर्षा, हिमपात तथा अत्यधिक गर्मी र तातो लहरबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी ताजा सूचनामा नियमित रूपमा अद्यावधिक रहन सर्वसाधारणलाई आग्रह गरेको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट