Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

११ महिनामा चिया निर्यात २० प्रतिशतले घट्यो, दर्जनौं उद्योग बन्द


काठमाडौं । भारतीय बजारमा देखिएको अवरोधका कारण नेपाली चिया निर्यातमा उल्लेख्य गिरावट आएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा चिया निर्यात करिब २० प्रतिशतले घटेको भन्सार विभागको तथ्यांकले देखाएको छ।

विभागका अनुसार साउनदेखि जेठसम्मको अवधिमा १ करोड १७ लाख १५ हजार किलोग्राम चिया ३ अर्ब ५१ करोड ३९ लाख रुपैयाँ बराबरमा निर्यात भएको छ। यो परिमाण गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा १९.८९ प्रतिशतले कम हो। गत वर्षको ११ महिनामा १ करोड ४६ लाख २५ हजार किलोग्राम चिया ४ अर्ब २० करोड ८ लाख रुपैयाँमा निर्यात भएको थियो।

पछिल्ला महिनामा भारततर्फ निर्यात पूर्ण रूपमा प्रभावित भएपछि समग्र निर्यातमा ठूलो गिरावट आएको हो। नेपालको कुल चिया निर्यातको करिब ९० प्रतिशत हिस्सा भारतमै निर्भर रहेको छ।

गत बैशाख १८ गतेदेखि भारतीय चिया बोर्डले नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर लागू गर्दै प्रत्येक ट्रक र प्रत्येक खेपका लागि छुट्टाछुट्टै प्रयोगशाला परीक्षण अनिवार्य गरेपछि निर्यात प्रक्रिया जटिल बनेको थियो। पहिले एक परीक्षण प्रतिवेदनले १५ दिनसम्म वा १० ट्रकसम्म मान्यता पाउने व्यवस्था थियो, तर नयाँ नियमअनुसार प्रत्येक ट्रकको नमुना परीक्षणका लागि ११ हजार १२० भारतीय रुपैयाँ शुल्क तिर्नुपर्ने र रिपोर्ट आउन करिब दुई साता लाग्ने व्यवस्था गरिएको थियो।

लामो समयसम्म चिया गोदाममै थन्किँदा गुणस्तर र स्वाद बिग्रिने जोखिम बढेपछि उद्योगीहरूले उत्पादन नै बन्द गर्न थालेका छन्। इलामका ५६ उद्योग र झापाका ३० भन्दा बढी उद्योग बन्द भएको जनाइएको छ।

यद्यपि भारतबाहेक पनि नेपाली चियाका अन्य बजारहरू सक्रिय छन्। जर्मनी, यूएई, रूस, अमेरिका, फ्रान्स, चीन र जापानलगायत देशमा निर्यात भइरहेको छ।

चालु आर्थिक वर्षको ११ महिनामा जर्मनीतर्फ ६८ हजार किलोग्राम चिया १७ करोड ८६ लाख रुपैयाँ बराबरमा निर्यात भएको छ। यूएईतर्फ करिब १० करोड रुपैयाँ, रूसतर्फ ८ करोड रुपैयाँ र अमेरिकातर्फ ६ करोड रुपैयाँ बराबरको चिया निर्यात भएको तथ्यांकमा उल्लेख छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट