Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

साइबर सेना बनाउने चर्चाबीच महेश्वर दाहालको व्यंग्यात्मक टिप्पणी


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले केही दिनअघि पार्टीको बैठकमा सामाजिक सञ्जाल प्रभावकारी रूपमा परिचालन गर्न नसक्दा अपेक्षित राजनीतिक परिणाम हासिल गर्न नसकिएको भन्दै ‘साइबर सेना’ निर्माण गर्ने आवश्यकता औँल्याएपछि त्यस विषयमा विभिन्न प्रतिक्रिया आउन थालेका छन्।

यही सन्दर्भमा प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष महेश्वर दाहालले सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक शैलीमा ‘अल्गोरिदम र भोटिङ चिप’ शीर्षकको लघुकथा सार्वजनिक गरेका छन्। उक्त कथामार्फत उनले प्रविधि, सामाजिक सञ्जाल र डिजिटल प्रचारको अत्यधिक मोहप्रति कटाक्ष गरेका छन्।

दाहालले लेखेको कथामा एक कम्युनिस्ट पार्टीको बैठकमा चतुर नेताले आगामी २०८७ सालको निर्वाचन जित्ने नयाँ सूत्र प्रस्तुत गरेको प्रसंग उल्लेख गरिएको छ। कथाअनुसार ती नेताले अब विचार, सिद्धान्त र जनसेवाभन्दा प्रविधि, अल्गोरिदम र ‘भोटिङ चिप’ पर्याप्त हुने तर्क गर्छन्।
उनको योजनाअनुसार चुनावअघि सबै मतदाताको दिमागमा ‘माइक्रो चिप’ जडान गरिनेछ र विशेष अल्गोरिदम तयार पारिनेछ। त्यसपछि उक्त चिपले नेता देख्नेबित्तिकै विकास, सुशासन र इमानदारीको भर्चुअल अनुभूति गराइदिनेछ। सडक बिग्रिएको भए पनि चिल्लो देखिने, समस्या जति भए पनि सबै ठीकठाक लाग्ने र सुकुम्बासी तथा गरिबलाई वास्तविक जमिन वा सम्पत्तिको सट्टा ‘डिजिटल एसेट’ प्रदान गरिने कल्पना कथामा गरिएको छ।

कथामा ती नेताले “यसो गर्न सकियो भने दुई तिहाइ जित सुनिश्चित छ” भन्दै गर्वका साथ दाबी गरेका छन्। त्यसपछि कथाको अन्त्यमा कुनामा बसेका एक वृद्ध कार्यकर्ताले मुस्कुराउँदै भनेका छन्, “प्रविधिले मतदाता झुक्याउन सक्छ तर भोक, पीडा र यथार्थलाई सधैंका लागि ह्याक गर्न सक्दैन।”

राजनीतिक वृत्तमा डिजिटल प्रचार, सामाजिक सञ्जालको प्रभाव र जनमत निर्माणमा प्रविधिको भूमिकाबारे बहस चलिरहेका बेला दाहालको यो व्यंग्यात्मक अभिव्यक्तिले थप चर्चा पाएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट