Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

काठमाडौंमा विद्यार्थीहरू आन्दोलनमा उत्रिँदै


काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै प्रभावित विद्यार्थीहरूले भोलि माइतीघर मण्डला मा प्रदर्शन गर्ने भएका छन्। नतिजा प्रकाशन तथा मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको, पुनर्मूल्याङ्कन र रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिन लागेका हुन्।

आन्दोलनको नेतृत्व रञ्जित कार्की, साहिल रिजाल, दिवस श्रेष्ठ, स्मृति खतिवडा, अंशु पन्त र साहेब साह लगायतका विद्यार्थीहरूले गरिरहेका छन्।

आयोजकहरूले ह्वाट्सएप, टिकटक र इन्स्टाग्राममार्फत देशभरका विद्यार्थीहरूलाई प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन्। आन्दोलनका अगुवा रञ्जित कार्कीले नतिजा प्रकाशनमा हतार गर्दा धेरै त्रुटि भएको दाबी गरेका छन्।

उनका अनुसार कतिपय विद्यार्थीहरू छात्रवृत्तिका लागि आवेदन दिन समस्या भोगिरहेका छन् भने धेरैको नतिजा अपेक्षाभन्दा फरक आएको छ। त्यसैले आफ्नो आवाज सम्बन्धित निकायसम्म पुर्‍याउन प्रदर्शन गर्न लागिएको उनले बताएका छन्।

आयोजकहरूका अनुसार प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं बाट अनुमति प्राप्त भइसकेको छ। साथै कार्यक्रमलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन नेपाल प्रहरी सँग आवश्यक समन्वय गरिएको जनाइएको छ।

विद्यार्थीहरूले निष्पक्ष छानबिन, निःशुल्क रिटोटलिङ, उत्तरपुस्तिका पुनर्परीक्षण तथा मूल्याङ्कन प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्न माग गरेका छन्। उनीहरूका अनुसार कक्षा १२ को नतिजासम्बन्धी विवाद केवल अंकको विषय नभई हजारौँ विद्यार्थीको भविष्यसँग जोडिएको गम्भीर प्रश्न हो।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट