Techie IT
KTM Post
बिहीबार, ११ असार, २०८३

भारतको अवरोधपछि बन्द चिया उद्योग पुनः सञ्चालन, सरकारको आश्वासनपछि उद्योगी सकारात्मक


काठमाडौं । नेपाली चिया निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारले उच्चस्तरीय कार्यदल गठन गर्ने प्रतिबद्धता जनाएपछि झापा र इलामका बन्द रहेका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन्।

भारतीय पक्षले नेपाली चियाको निर्यातमा नयाँ मापदण्ड लागू गरेपछि असारको सुरुवातदेखि बन्द भएका उद्योगहरू बिहीबारबाट क्रमशः खुल्न थालेका हुन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयले निर्यात अवरोध हटाउन पहल गर्ने आश्वासन दिएसँगै झापाका करिब ३० वटा सीटीसी चिया उद्योगले पुनः उत्पादन सुरु गरेका छन्।

झापामा उद्योग सञ्चालनमा आएपछि इलामसहित पहाडी जिल्लाका अन्य चिया उद्योगहरू पनि खुल्ने प्रक्रियामा रहेका छन्।

किन बन्द भएका थिए उद्योग ?

भारतको चिया बोर्डले गत १८ वैशाखदेखि नेपाली चियाको गुणस्तर परीक्षणका लागि नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी)’ लागू गरेपछि निर्यात प्रभावित भएको थियो। नयाँ व्यवस्थाअनुसार भारत निर्यात हुने प्रत्येक चियाको खेपले अनिवार्य प्रयोगशाला परीक्षण गराउनुपर्ने र रिपोर्ट आउन करिब १५ दिन लाग्ने व्यवस्था गरिएको थियो। साथै, प्रत्येक गाडीबाट ११ हजार ५ सय भारतीय रुपैयाँ शुल्क पनि असुलिने व्यवस्था गरिएको थियो।

यस व्यवस्थाका कारण नेपाली चिया निर्यात करिब २१ दिनसम्म पूर्ण रूपमा अवरुद्ध बनेको थियो। नेपालतर्फबाट विरोध भएपछि भारतीय पक्षले प्रत्येक ट्रकको सट्टा नमुनाका आधारमा परीक्षण गर्ने सहमति जनाएको थियो। तर, केही समयपछि फेरि भारतीय अधिकारीहरूले निर्यातकर्ताको गोदाममै पुगेर नमुना संकलन गर्न थालेपछि र परीक्षण प्रतिवेदन नआएसम्म चिया ढुवानी रोक्न निर्देशन दिएपछि निर्यात पुनः ठप्प बनेको थियो।

करिब सयवटा उद्योग बन्द हुँदा बगानमा हरियो चियापत्ती हुर्किएर घाँस बन्ने अवस्था आएको थियो । यसबाट दैनिक करिब दुई करोड रुपैयाँको नोक्सानी भइरहेको थियो भने १ लाखभन्दा बढी मजदुर र ३० हजार किसान प्रत्यक्ष मारमा परेका थिए ।

नेपालमा वार्षिक रूपमा करिब २ करोड किलोभन्दा बढी सीटीसी र ६५ लाख किलो अर्थोडक्स चिया उत्पादन हुने गर्छ । किसानको चियापत्ती नष्ट भएर करोडौंको घाटा लाग्ने अवस्था आएको र सरकारले पनि समस्या सुल्झाउने ठोस आश्वासन दिएकाले तत्काललाई उद्योग खोलेर हरियो पत्ती प्रशोधन गर्ने निर्णय गरिएको हो । तर, निर्यात सहज नभएसम्म उत्पादित चिया गोदाममै भण्डारण गरेर राखिनेछ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट