इरानमा १७५ विद्यार्थी बालिकाको हत्याको जिम्मेवारीबाट अमेरिका पन्छियो
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानको मिनाबस्थित एक बालिका विद्यालयमा भएको आक्रमणमा अमेरिकी मिसाइल प्रयोग भएको आरोप अस्वीकार गरेका छन्। घटनाका बेला विभिन्न दिशाबाट मिसाइल प्रहार भइरहेकाले वास्तविक जिम्मेवार पक्ष पहिचान गर्न कठिन हुने उनको भनाइ छ।
ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै उक्त आक्रमणमा अमेरिकाको संलग्नता पुष्टि गर्ने कुनै प्रमाण आफूले नदेखेको बताए। “कसैले यो हाम्रो मिसाइल थियो भनेका छन्, तर त्यो हाम्रो नहुन पनि सक्छ। यस घटनामा अमेरिका जिम्मेवार रहेको पुष्टि गर्ने कुनै प्रमाण मैले देखेको छैन,” उनले भने।तर, यसअघि करिब १० दिनअघि ट्रम्पले उक्त घटनालाई ‘दुर्भाग्यपूर्ण गल्ती’ का रूपमा व्याख्या गर्दै विद्यालयलाई जानाजानी निशाना नबनाइएको बताएका थिए।
गत मार्चमा सार्वजनिक भएका विभिन्न प्रतिवेदनमा अमेरिकी सेनाको प्रारम्भिक अनुसन्धानले आक्रमणमा अमेरिकी सैन्य भूमिकाको सम्भावना औंल्याएको दाबी गरिएको थियो। यद्यपि, अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले हालसम्म यसबारे कुनै आधिकारिक पुष्टि नगरेको र अनुसन्धान जारी रहेको जनाएको छ।
ईरानी अधिकारीहरूका अनुसार फेब्रुअरी २८ मा मिनाबस्थित गर्ल्स स्कूलमा भएको आक्रमणमा १७५ भन्दा बढी विद्यार्थी र शिक्षकको मृत्यु भएको थियो। घटनाप्रति संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालयले गम्भीर चिन्ता व्यक्त गर्दै त्यसलाई अत्यन्तै भयावह र निन्दनीय आक्रमणको संज्ञा दिएको थियो।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया