Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

रास्वपा पदाधिकारीमा कुन पदमा कसको उम्मेदवारी ?


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत नयाँ पदाधिकारी चयनका लागि आज चितवनमा मतदान हुँदैछ। छ दिनदेखि जारी महाधिवेशनको अन्तिम चरणमा पार्टीको उपल्लो तहका नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढेको हो।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको नामावली अनुसार विभिन्न ६ वटा मुख्य पदका लागि ३० जना उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुने भएको छ।

आयोगले सार्वजनिक गरेको विवरण अनुसार उपसभापति (खुला) पदका लागि डा.स्वर्णिम वाग्लेको एकल उम्मेदवारी परेको छ। यससँगै उनी निर्विरोध भएका छन् । त्यस्तै, उपसभापति (महिला) को एक पदका लागि सोविता गौतम र डा.तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ।

पार्टीको महत्वपूर्ण मानिने एक महामन्त्री पदका लागि भने ८ जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन्। महामन्त्रीमा प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्यले आफ्नो दावेदारी प्रस्तुत गरेका छन्।

त्यसैगरी, दुई जना निर्वाचित हुने सह(महामन्त्री (खुला) पदका लागि ११ जनाको उम्मेदवारी परेको छ। यस पदका लागि रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोक कुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजिव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्त चुनावी प्रतिस्पर्धामा छन्।

सह-महामन्त्री (महिला) को एक पदका लागि ५ जना महिला नेतृहरूले उम्मेदवारी दिएका छन्। जसमा जुली यादव, जमुना शर्मा (विदुषी), कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा रहेका छन्।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले शुक्रबार यो अन्तिम नामावली प्रकाशन गरेको हो। रास्वपाले सभापतिमा रवि लामिछानेलाई निर्वाचित गरिसकेको छ भने केन्द्रीय सदस्य पनि ९९ जना निर्वाचित भइसकेका छन् ।

1

2


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट