देशभर मनसुन सक्रिय हुँदै: कोशीमा भारी वर्षा र तराईमा हुरीको सम्भावना
काठमाडौं। नेपालमा मनसुनी वायुको प्रभाव क्रमशः थप शक्तिशाली बन्दै गएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका अधिकांश भाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन पूर्ण रूपमा फैलिइसकेको छ।
देशका बाँकी भू-भागमा भने अहिले पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा सुदूरपश्चिमको तराई क्षेत्र मुख्यतया सफा रहेको छ भने अन्य भू-भागमा आंशिक बदली भई कोशी, बागमती र सुदूरपश्चिमका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाले आगामी तीनदेखि चार दिनभित्र गण्डकी र लुम्बिनीका बाँकी क्षेत्रसहित कर्णाली र सुदूरपश्चिम प्रदेशभर नै मनसुन पूर्ण रूपमा विस्तार हुने आकलन गरेको छ।
आज दिउँसोको मौसम देशभर साधारणतया बदली रहने प्रक्षेपण गरिएको छ। यस क्रममा देशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना छ।
तराईका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुने अनुमान छ भने विशेष गरी कोशी प्रदेशका पहाडी र तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना औंल्याइएको छ। वर्षासँगै आज दिउँसो कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा तीव्र गतिको हुरी चल्न सक्ने भएकाले सचेत रहन भनिएको छ।
रातिको समयमा पनि मौसममा खासै सुधार हुने देखिँदैन र देशभर साधारणतया बदली नै रहनेछ। आज राति कोशी प्रदेशका धेरै स्थानहरू तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपात हुने सम्भावना छ।
पश्चिमका कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागमा पनि रातको समयमा चट्याङसहित मध्यम वर्षा र हिमपातको आकलन गरिएको छ। त्यसैगरी मधेस प्रदेशका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि मध्यम वर्षा हुनेछ।
आज रातिको मौसम कतिपय क्षेत्रमा अलि बढी आक्रामक हुने देखिएको छ । कोशी प्रदेशका पहाडी र तराई भेगका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ भने मधेस प्रदेशका एक-दुई स्थानमा पनि भारी वर्षा हुन सक्छ।
वर्षाका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र र मधेस प्रदेशका केही स्थानमा राति बलियो हुरी चल्ने सम्भावना छ। महाशाखाले हुरीबतास, चट्याङ र भारी वर्षाको जोखिम रहेका क्षेत्रका सर्वसाधारणलाई नदी तटीय क्षेत्र र कमजोर भिरालो जमिन आसपास विशेष सतर्कता अपनाउन र सुरक्षित रहन अपिल गरेको छ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया