निजी च्याट र भ्वाइस लिक विवादपछि गायक सुजन चापागाईंको स्पष्टीकरण
काठमाडौं । सामाजिक सञ्जालमा आफूसँग सम्बन्धित भनिएका निजी इन्स्टाग्राम च्याट र भ्वाइस सन्देशहरू सार्वजनिक भएपछि चर्चित गायक सुजन चापागाईंले सार्वजनिक रूपमा आफ्नो धारणा व्यक्त गरेका छन्।
हाल “सुजन चापागाईं एन्ड द इन्फिनिटी म्युजिकल टुर” अन्तर्गत अष्ट्रेलिया भ्रमणमा रहेका चापागाईंले आइतबार विज्ञप्ति जारी गर्दै पछिल्लो घटनाप्रति आफू गम्भीर रूपमा दुःखी र चिन्तित भएको बताएका छन्।
उनले विगतमा आफूले चिनेजानेका केही व्यक्तिसँग सामाजिक सञ्जालमार्फत संवाद गरेको स्वीकार गर्दै उक्त घटनाबाट कसैको मन दुखेको भए क्षमायाचना गरेका छन्। तर, सामाजिक सञ्जालमा फैलाइएका सबै च्याट र सामग्रीलाई आफूले प्रामाणिक नमान्ने स्पष्ट पारेका छन्।
चापागाईंले आफ्नो सामाजिक सञ्जाल खाता विभिन्न समयमा अन्य व्यक्तिहरूले पनि व्यवस्थापन गरेको उल्लेख गर्दै केही सामग्री दुरुपयोग वा हेरफेर गरिएको हुन सक्ने आशंका व्यक्त गरेका छन्। साथै, आफ्नो नाम प्रयोग गरी सञ्चालन गरिएका नक्कली सामाजिक सञ्जाल खाताहरू समेत फेला परेको दाबी गरेका छन्।
घटनाको सत्यतथ्य पत्ता लगाउन कानुनी प्रक्रिया सुरु गरिसकेको जानकारी दिँदै उनले अष्ट्रेलिया भ्रमण सम्पन्न गरी नेपाल फर्किएपछि यस विषयमा थप कानुनी प्रक्रिया अघि बढाउने बताएका छन्।
विज्ञप्तिको अन्त्यमा उनले यस कठिन समयमा साथ र विश्वास कायम राख्ने परिवार, शुभेच्छुक तथा समर्थकहरूप्रति आभार व्यक्त गर्दै भविष्यमा सामाजिक सञ्जालको प्रयोग र व्यवस्थापनमा अझ बढी सावधानी अपनाउने प्रतिबद्धता जनाएका छन्।
यस घटनापछि सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ। यद्यपि, सार्वजनिक भएका सबै च्याट तथा अडियो सामग्रीको आधिकारिक रूपमा स्वतन्त्र पुष्टि भने हुन बाँकी छ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया