Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

धरानमा अत्याधुनिक ‘स्मार्ट बसपार्क’ सञ्चालनमा, एकैपटक ३८ बस पार्किङ गर्न सकिने


काठमाडौं। धरान उपमहानगरपालिका–८ स्थित तीनकुने क्षेत्रमा निर्माण गरिएको अत्याधुनिक ‘स्मार्ट बसपार्क’ शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। करिब एक वर्षअघि निर्माण सम्पन्न भएको बसपार्कलाई धरान उपमहानगरपालिका र यातायात व्यवसायीले संयुक्त रूपमा प्रयोगमा ल्याएका हुन्।

सङ्घीय सरकार र धरान उपमहानगरपालिकाको ५०–५० प्रतिशत लगानीमा करिब एक बिघा सात कट्ठा क्षेत्रफलमा निर्माण गरिएको बसपार्कको प्रारम्भिक लागत अनुमान ३३ करोड ७० लाख रुपैयाँभन्दा बढी रहेको थियो। निर्माणको जिम्मा बिकोइ गीताञ्जली जेभी, दुहबी–सुनसरीले पाएको थियो। २०७८ असार ३० गते २५ करोड ४१ लाख ६७ हजार रुपैयाँमा ठेक्का सम्झौता गरी निर्माण सुरु गरिएको आयोजना अन्ततः २४ करोड ८६ लाख रुपैयाँको लागतमा सम्पन्न भएको हो ।

नयाँ बसपार्कमा एकैपटक ३८ वटा ठूला बस र १८ वटा जिप पार्किङ गर्न सकिने व्यवस्था छ। साथै बेसमेन्टमा ७२ वटा मोटरसाइकल, ६० वटा अटो र केही कार तथा जिप पार्किङ गर्न सकिने क्षमता रहेको छ।

यात्रु सुविधालाई प्राथमिकता दिँदै बसपार्कमा करिब ३०० यात्रु अट्ने प्रतीक्षालय, टिकट काउन्टर, एटीएम बुथ, सिसिटिभी निगरानी प्रणाली, सुरक्षा कक्ष, सार्वजनिक शौचालय, प्राथमिक उपचार कक्ष, मिनीमार्ट तथा २२ वटा अटो अट्ने छुट्टै स्टेसन निर्माण गरिएको छ। भवनको पहिलो तलामा अन्डरग्राउन्ड पार्किङसहित १८ वटा व्यावसायिक सटरसमेत सञ्चालनका लागि तयार गरिएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट