Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

बुढानीलकण्ठ विद्यालयमा दुर्व्यवहारको आरोपबारे छानबिन सम्पन्न, शून्य सहनशीलताको नीति कायम रहेको दाबी


काठमाडौं। बुढानीलकण्ठ विद्यालयले विद्यार्थीमाथि शारीरिक तथा मानसिक यातना दिइएको भन्ने विषयमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विद्यालयले जारी गरेको विज्ञप्तिमा सम्बन्धित घटनालाई संवेदनशील रूपमा लिँदै निष्पक्ष छानबिन सम्पन्न गरिएको र छानबिन समितिले दिएका सुझाव तथा सिफारिसहरू कार्यान्वयनमा ल्याइसकिएको उल्लेख गरिएको छ।विद्यालय प्रशासनले कुनै पनि प्रकारको शारीरिक, मानसिक वा भावनात्मक दुर्व्यवहारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिएको स्पष्ट पार्दै विद्यार्थीको सुरक्षा, सम्मान र बालअधिकार संरक्षणलाई सर्वोच्च प्राथमिकतामा राखिएको जनाएको छ।

यसैगरी, अभिभावकहरूको संस्था फ्रेन्ड्स अफ बुढानीलकण्ठ स्कुल (फोब्स) ले पनि पूर्व विद्यार्थीसँग सम्बन्धित घटनाको छानबिन र सुधारका सिफारिस कार्यान्वयन भइसकेपछि पुराना विषयलाई योजनाबद्ध रूपमा पुनः सार्वजनिक गरिएकोप्रति असन्तुष्टि जनाएको छ।

फोब्सले सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा प्रस्तुत गरिएको चित्रण विद्यालयको वास्तविक अवस्था र वातावरणसँग मेल नखाने दाबी गरेको छ। संस्थाका अनुसार विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय गतिविधिमाथि निरन्तर निगरानी भइरहेको छ र अभिभावकहरू आफ्ना बालबालिकाको शैक्षिक, शारीरिक तथा मानसिक विकासप्रति विश्वस्त छन्।

विद्यालय र फोब्स दुवैले आधारहीन, अतिरञ्जित तथा भ्रामक सामग्री सामाजिक सञ्जालमा प्रसारण नगर्न सर्वसाधारणसँग आग्रह गरेका छन्। यस्ता गतिविधिले व्यक्ति तथा संस्थाको प्रतिष्ठामा प्रतिकूल असर पार्न सक्ने भन्दै आवश्यक परे कानुनी उपचारको बाटो अवलम्बन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन्।

साथै, कुनै पनि विषयमा आधिकारिक जानकारी लिन विद्यालय प्रशासनसँग प्रत्यक्ष सम्पर्क गर्न सञ्चारमाध्यम, अभिभावक तथा अन्य सरोकारवालालाई अनुरोध गरिएको छ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट