Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

मनसुन कमजोर हुँदा मधेसमा ४ प्रतिशतमात्र धान रोपाइँ


काठमाडौं । पमधेश प्रदेशमा मनसुन सक्रिय भए पनि धान रोपाइँले अपेक्षित गति लिन सकेको छैन । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार असार १२ गतेसम्म प्रदेशमा कुल धान रोपाइँ हुने क्षेत्रफलको ४.३६ प्रतिशत रोपाइँ भएको छ ।

असार १२ गतेसम्म १६ हजार ९११ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ । मधेश प्रदेशमा कुल ५ लाख ४९ हजार ३५६.३८ हेक्टर खेतीयोग्य जमिनमध्ये ३ लाख ८७ हजार ९३३ हेक्टर क्षेत्रमा धान खेती हुने अनुमान गरिएको छ ।

जिल्लागत रूपमा हालसम्म महोत्तरीमा सबैभन्दा बढी ८.१७ प्रतिशत धान रोपाइँ भएको छ । त्यहाँ ४० हजार हेक्टर धान खेती हुने क्षेत्रमध्ये ३ हजार २६६ हेक्टरमा रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।त्यसपछि धनुषा र बारामा समान ७–७ प्रतिशत प्रगति भएको छ । धनुषामा ४३ हजार ७ सय हेक्टरमध्ये ३ हजार ५९ हेक्टर तथा बारामा ४५ हजार १ सय हेक्टरमध्ये ३ हजार २ सय ५० हेक्टर क्षेत्रमा रोपाइँ भएको छ ।

सिराहा र सप्तरीमा समान ५ प्रतिशत रोपाइँ भएको छ । सिराहामा ५४ हजार हेक्टरमध्ये २ हजार ७ सय हेक्टर तथा सप्तरीमा ६८ हजार हेक्टरमध्ये ३ हजार ४ सय हेक्टरमा धान रोपिएको तथ्यांक छ ।

यस्तै सर्लाहीमा ४२ हजार ६ सय १५ हेक्टर धान क्षेत्रमध्ये १ हजार ३६ हेक्टरमा मात्रै रोपाइँ सम्पन्न भई २.५ प्रतिशत प्रगति भएको छ ।

पर्सामा ५२ हजार ३ सय ३८ हेक्टर र रौतहटमा ३५ हजार हेक्टर क्षेत्रमा धान खेती हुने गरेको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट