Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

देशका विभिन्न स्थानमा मुसलधारे वर्षाको सम्भावना, मौसम विज्ञान विभागद्वारा विशेष सतर्कता अपिल


काठमाडौं । मनसुनी वायु सक्रिय बन्दै गएपछि आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त हावा प्रवेश गरिरहेकाले वर्षाको मात्रा र तीव्रता दुवै बढ्ने जनाएको छ।

महाशाखाका अनुसार आगामी दुई दिन कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। केही क्षेत्रमा अति भारी वर्षासमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।तराईका केही जिल्लामा तीव्र गतिको हावाहुरी चल्न सक्ने अनुमानसमेत गरिएको छ। मौसमविद्हरूले वर्षासँगै बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन सुझाव दिएका छन्।

यस वर्ष मनसुन औसत समयभन्दा छ दिन ढिलो गरी असार ५ गते कोशी प्रदेशको पूर्वी भूभागबाट नेपाल प्रवेश गरेको थियो। प्रारम्भिक चरणमा कमजोर देखिएको मनसुन अहिले क्रमशः देशभर सक्रिय बन्दै गएको मौसम विभागले जनाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि नदी तटीय क्षेत्र, पहिरोको जोखिममा रहेका बस्ती तथा डुबान प्रभावित हुन सक्ने स्थानका बासिन्दालाई सतर्क रहन अपिल गरेको छ।

लगातारको वर्षाले साना तथा ठूला नदी, खोला र नालाहरूमा पानीको सतह बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो जान सक्ने तथा तराई र सहरी क्षेत्रमा डुबानको समस्या उत्पन्न हुन सक्ने चेतावनी दिइएको छ।

यस्तै, वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि, स्वास्थ्य सेवा र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले यात्रा गर्दा, नदी तथा खोला पार गर्दा र जोखिमयुक्त क्षेत्रमा आवतजावत गर्दा विशेष सावधानी अपनाउन तथा स्थानीय प्रशासनको सूचनालाई पालना गर्न आग्रह गरिएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट