Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

पलापु खानेपानी लिफ्ट आयोजनाको १८ लाख ५० हजार रुपैयाँ बैंक ग्यारेन्टी रकम हिनामिना गरेको अभियोगमा आयोगले बिहीबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो।

मुद्दा दायर गरिएकाहरूमा गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदी र शिरिस कन्स्ट्रक्सनका सञ्चालक प्रकाश छिरिङ राई रहेका छन्। अख्तियारका अनुसार गाउँपालिकाले उक्त निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरे पनि काम नगरेपछि ठेक्का रद्द गरी धरौटी रकम जफत गर्ने निर्णय गरेको थियो।

तर, सुवेदीले कार्यपालिकाको उक्त निर्णयलाई लुकाएर बैंक ग्यारेन्टीको म्याद सकिएपछि मात्रै बैंकलाई पत्राचार गरेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।

नियतवश म्याद गुजारेर सरकारी सम्पत्ति हानी-नोक्सानी पुर्‍याएको ठहर गर्दै अख्तियारले दुवै प्रतिवादीसँग जनही १८ लाख ५० हजार रुपैयाँ बिगो दाबी गरेको छ।

उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको सजाय माग गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट